नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट सुरु
काठमाडौँ- नेपाल बुद्धिचाल महासंघको आयोजनामा नेसनल चेस च्याम्पियनसिप मंगलबारबाट सुरु हुने भएको छ ।
महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप वैशाख ५ देखि सुरु भएर १० गतेसम्म संचालन हुने जनाएको छ । महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिता काठमाडौँ लाजिम्पाटस्थित होटल ले हिमालयमा हुनेछ ।
६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २२ औं ओपन एवं सातौं वुमन्स गरी दुई विधामा च्याम्पियनसिप संचालन गरिने आयोजकले जनाएको छ । राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपमा दुवै विधामा १०–१० जना खेलाडीको सहभागिता रहने छ ।
नेसनल ’बी’ च्याम्पियनसिपबाट छनौट भएका ८ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागिता हुने च्याम्पियनसिपमा खुलातर्फ उच्च वरीयता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ हाल अस्ट्रेलिया भएका कारण सहभागी हुने छैनन् । च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप एवं काजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टलमा सहभागिता जनाउने महासंघका अध्यक्ष विदुरप्रसाद गौतमले जानकारी दिए ।
प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औँ नेशनल तथा आठौं वुमन नेशनल च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्ने छन् भने अन्य खेलाडीले नेसनल ’बी’ मा प्रतिस्पर्धा गर्नु पर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया