रारा म्याराथन २२ वैशाखमा हुने
काठमाडौं - बैशाख २२ गतेदेखि रारा म्याराथन हुने भएको छ । मुगुको रारा तालबाट सुरु हुने म्याराथन रारा ताल किनारमै पुगेर समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथनमा मुगुका सबै स्थानीय तहहरू र विभिन्न संघ संस्थाहरूले सहकार्य गर्नेछन् ।
म्याराथनको रुट रारा ताल किनारबाट शुरु भई मुर्मा टप, मुर्मा गाउँ हुँदै चुचेमारा हिमालको ४ हजार १ सय मिटरको उचाईंमा पुगेर सल्लेरीतर्फ लाग्नुपर्नेछ । त्यहाँबाट मुगुको एकमात्र विमानस्थल ताल्चा भएर सदरमुकाम गमगढी पुगेपछि पुनः रारा तालकै किनारमा पुगेर समापन हुनेछ ।
यस म्याराथनको महत्वपूर्ण आकर्षणको रूपमा राराताल वरिपरि १ फन्को लगाउने १५ किलोमिटर दौड हुनेछ । फुल म्याराथनसँगै शुरु भएर धावकहरू ताल वरिपरि घुमेर पुनः स्टार्टिङ प्वाइन्टमै पुगेर यो दौड समापन हुनेछ ।
यस दौडमा आन्तरिक पर्यटक र सर्वसाधारणको व्यापक सहभागिता हुने अपेक्षा छ । ‘रारा म्याराथनले पश्चिम नेपालमा खेलकुदको सम्भावनालाई त उजागर गर्ने नै छ’म्याराथनका अध्यक्ष अन्तरालका टिम लिडर जयनारायण शाहले भने,‘बुद्ध पुर्णिमाको दिन सुन्दर रारातालबाट भाइचारा र विश्वशान्तिको सन्देश पनि दिनेछ ।’
रारा म्याराथनले खेलकुदसँगै आन्तरिक र बाह्य पर्यटनलाई अभिवृद्धि गर्ने अपेक्षा छ । म्याराथनका संरक्षक तथा मुगुबाट प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीले रारा म्याराथनले खेलकुदसँगै मुगु र कर्णालीको समग्र विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
‘रारा म्याराथनले विश्व समुदायलाई मुगुमा आकर्षित गर्नेछ’– सांसद शाहीले भने -,‘यो म्याराथन सफल पार्न सिंगो मुगु जिल्ला एकजुट भएर लागेको छ ।’
रारा म्याराथनले स्थानीय खेलाडीहरू उत्पादनमा विशेष जोड दिनेछ । यस वर्ष मुगुका खेलाडीहरूलाई म्याराथनमा भाग लिदां कुनै पनि शुल्क लाग्ने छैन । प्रत्येक स्थानीय तहलाई सिफारिसको लागि संख्या भने तोकिनेछ ।
कर्णालीका खेलाडीहरूलाई विशेष सहुलियत हुनेछ । युवा खेलाडीहरूलाई १ हप्ताको विशेष ओरियन्टेशनमा सहभागी गराएर दौडका लागि प्रोत्साहित गरिनेछ । यसका लागि रारा म्याराथनकी सद्भावना दुत विश्वकिर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई सहितको टिम १ साता अघि नै मुगु पुगिसक्नेछ ।
रारा म्याराथनमा धाविका मीरा राईको अगुवाइमा संचालित मीरा राई इनिसीयटिभले पनि सहकार्य गरेको छ । इनिसीयटिभले `स्तुपा टु स्तुपा र भोजपुर ट्रेल रेसको आयोजना गर्दै आएको छ भने देशैभरबाट किशोरीहरूलाई काठमाडौंमा लगेर दौड, क्षमता अभिवृद्धि, अग्रेंजी लगायतका भाषा तालिम आवासीय रुपमा संचालन गर्दै आएको छ ।
‘आगामी वर्षदेखि धाविका मीरा राई हरेक वर्ष कम्तिमा डेढ महिना मुगुमा भेटिनेछन्’ शाहले भने,‘निकट भविष्यमा मुगुका किशोरीहरूबाट अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’
सुन्दर ताल राराको नाममा तयारी शुरु गरिएको म्याराथनको सद्भावना दुत भएर काम गरिरहँदा आफुले गौरव बोध गरेको बताउँदैं मीरा राई भन्छिन् - `म रारामा नेपाली मात्र होइन विश्वकै खेलाडीहरूलाई निमन्त्रणा गर्दछुँ ।’
विकट कर्णालीका किशोरीहरूसँग काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताउँदैं राईले भनिन् - `म मुगुका किशोरीहरूमा थुप्रै मीरा खोज्नेछु ।’
‘पहिलो चरणमा किशोरीहरूलाई खेलकुद प्रशिक्षण शुरु गरिनेछ’–सांसद शाहीले भने- ‘निकट भविष्यमा समग्र खेलकुद समेट्ने गरी बृहत प्रशिक्षण गरिनेछ ।´
`रारा म्याराथनले विकट कर्णालीमा अन्तराष्ट्रिय स्तरको खेलकुद सफल आयोजना हुन सक्छ भनेर मात्र प्रमाणित गर्नेछैन’ – म्याराथनका अध्यक्ष जयनारायण शाहले भने,‘यो सफल आयोजनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको आयोजनाको लागि पनि सकारात्मक सन्देश दिनेछ ।’
कर्णाली खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालले रारा म्याराथन कर्णालीको खेलकुद विकासमा एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
‘हामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिरहेका बेला हुन लागेको रारा म्याराथनलाई परिषदले पुर्ण रूपमा सघाउनेछ, सदस्य सचिव सञ्ज्यालले भने - `रारामा राष्ट्रिय, अन्तराष्ट्रिय धावक र पाहुनाहरूलाई स्वागत गर्न कर्णाली खेलकुद परिषद् आतुर छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया