खेलकुद

एनपीजीए टुर : दोस्रो दिन एमेच्योर सदभाव र प्रो सञ्जय शीर्ष स्थानमा

इकागज |
बैशाख ५, २०८० मंगलबार १७:० बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन एमेच्योर सदभाव आचार्य र प्रो सञ्जय लामा एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा राष्ट्रिय टिमका सदस्य सदभावले दिनकै उत्कृष्ट ६-अन्डर ६६ को कार्ड बनाए । सञ्जयले २-अन्डर ७० को नतिजा निकाले । दुवैले ३६ होलको समाप्तिमा समग्रमा ८-अन्डर १३६ स्कोर बनाउँदै साविक विजेता सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे । 


नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाशले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाउँदा उनी समग्रमा ७-अन्डर १ सय ३७ सहित तेस्रो स्थानमा उक्लिएका छन् ।

४-अन्डर ६८ को कार्ड तयार पारेका निरज तामाङ समग्रमा ३-अन्डर १ सय ४१ को स्कोरमा‌ चौथो स्थानमा उक्लिए । रबि खड्काले १-ओभर ७३ को स्कोर जोड्दा समग्रमा २-अन्डर १ सय ४२ सहित पाँचौं स्थानमा तल झरे। दोस्रो दिन लयमा फर्किएका दाबेदार भुवन नगरकोटीले ४-अन्डर ६८ को प्रदर्शनका साथ समग्रमा १-अन्डर‌ १ सय ४३ सहित छैटौं स्थानमा उक्लिए ।

समग्रमा इभन-पार १ सय ४४ सहित सातौं स्थानमा रहने क्रममा कमल तामाङले‌ दोस्रो दिन १-अन्डर ७१ मा खेल सकाए । पोखराका प्रो भुबहादुर गुरूङले ३-ओभर ७५ स्कोर गर्दा समग्रमा १-ओभर १ सय ४५ सहित आठौं स्थानमा रहेका छन् । समग्रमा २-ओभर १ सय ४६ को नतिजामा रमेश अधिकारी र तोरण विक्रम शाहीले संयुक्त रूपमा नवौं‌ स्थान बाँडे । रमेशले १-अन्डर ७१ र तोरणले ३-ओभर ७५ मा दोस्रो दिनको खेल सकाए ।

३६ होलको समाप्तिमा १४-ओभर १ सय ५८ स्कोर गर्ने २१ प्रो र आठ एमरच्योर खेलाडीले कट बनाएका छन् । प्रोतर्फ दिनेश प्रजापति, राजेन्द्र श्रेष्ठ प्रधान, शिवराम पौडेल, सूर्यप्रसाद शर्मा, जयराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, बलभद्र राई, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, टंकबहादुर कार्की, रामे मगर, धनबहादुर थापा र दीपक मगरले कट बनाए ।

एमरच्योरतर्फ सहभागी नौ मध्ये आठ खेलाडीले कट बनाएका छन् । विजय श्रेष्ठ आइनहाउस, सुरेश तामाङ, वाङ्गचेन ढोन्डुप, टासी छिरिङ, युवराज भुजेल र भरत थापा मगरले अन्तिम दुई राउन्डको लागि स्थान सुरक्षित गरे ।

सदभावले सुरुवात सानदार गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा सकाए। उनले पहिलो होलमा बर्डी प्रहार गर्दै दिनको सुरुवात गरे । यसपछि तेस्रो देखि सातौं होलसम्म लगातार ५ बर्डीको सफलता प्राप्त गरे । नवौं होलमा पनि एक सट बचाए । फ्रन्ट नाइनमा उम्दा प्रदर्शन गरेका सदभावले ब्याक नाइनमा भने १-ओभर ३७ खेले । उनले १२औं होलमा बर्डी प्रहार गरे पनि १३औं र १५औं होलमा एक-एक सट खेर फाले ।

पहिलो दिनका लिडर सञ्जय लामाले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए । दोस्रो, चौंथो र पाँचौं होलमा बर्डी प्रहार गरेका उनले तेस्रो र सातौं होलमा एक-एक सट खेर फाले । ब्याक नाइनमा सञ्जयले ११औं र १२औं‌ होलमा लगातार दुईवटा इगलको सफलता प्राप्त गरे । तर, त्यसपछि उनले लय गुमाउँदै १४औं‌ र १६औं‌  होलमा डबल बोगी खेपे । सञ्जयले १८औं होलमा बर्डी प्रहार गर्दै शीर्ष स्थान बाँडे ।

दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुबाशले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाउने क्रममा पहिलो र पाँचौं होलमा बर्डी प्रहार गर्दा तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १२औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे ।

७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र‌ ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । कूल ८ लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने छन्‌ ।


Author

थप समाचार
x