नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास शीर्षस्थानमा
काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन नेपाल नम्बर एक गल्फर सुवास तामाङ २ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन् ।
गोकर्ण गल्फ क्लबमा दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले आज ३-अन्डर ६९ को कार्ड बनाउँदै समग्रमा १०-अन्डर २ सय ६ सहित पहिलो दुई दिनका लिडर सञ्जय लामालाई २ स्ट्रोकले पछि पारे । सञ्जयले इभन-पार ७२ मा खेल सकाए । समग्रमा ८-अन्डर २ सय ८ को स्कोरमा उनी दोस्रो स्थानमा झरे । पहिलो दिनका एकल लिडर सञ्जयले दोस्रो दिन भने एमेच्योर सदभावसँग शीर्षस्थान बाँडेका थिए । अन्तिम १८ होलको खेल बाँकी रहँदा यो पटक पनि एमेच्योर खेलाडीले प्रोफेसनल गल्फरलाई कडा चुनौती दिएका छन्।
४-अन्डर ६८ को उत्कृष्ट नतिजा सहित समग्रमा ६-अन्डर २ सय १० को स्कोरमा रवि खड्का तेस्रो स्थानमा उक्लिए । लयमा फर्किएका भुवन नगरकोटीले तेश्रो दिन पनि ४-अन्डर ६८ मा खेल सकाए । लगातार दुई दिन ४-अन्डर खेलेका उनी समग्रमा ५-अन्डर २ सय ११ को स्कोरमा चौथो स्थानमा उक्लिए ।
दोस्रो दिन सानदार प्रदर्शनसहित सञ्जयसँग शीर्षस्थान बाँडेका एमेच्योर सदभाव आचार्यले आज ४-ओभर ७६ को खराब प्रदर्शन गरे। समग्रमा ४-अन्डर २१२ सहित उनी पाँचौ स्थानमा तल झरे।
समग्रमा २-अन्डर २ सय १४ स्कोर गर्दै छैटौं स्थानमा रहने क्रममा निरज तामाङले आज १-ओभर ७३ मा खेल सकाए। १-ओभर ७३ खेल्दै समग्रमा १-ओभर २ सय १७ को स्कोरमा कमल तामाङ सातौं स्थानमा छन्। समग्रमा २-ओभर २ सय १८ सहित जयराम श्रेष्ठ र रमेश अधिकारीले संयुक्तरुपमा आठौं स्थान बाँडे। जयरामले ३-अन्डर ६९ र रमेशले इभन-पार ७२ मा खेल सकाए। एमेच्योर टासी छिरिङ र प्रो भुबहादुर गुरूङ समग्रमा ३-ओभर २ सय १९ को स्कोरमा संयुक्तरुपमा दशौं स्थानमा रहेका छन्। टासीले ४-अन्डर ६८ र भुबहादुरले २-ओभर ७४ को कार्ड बनाए।
लगातार तेस्रो दिन पनि अन्डर पारको स्कोर निकाल्ने क्रममा सुवासले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। दिनको सुरुवात बर्डीबाट गरे पनि दोस्रो र चौथौं होलमा एक-एक सट खेर फाले। यसपछि छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइन २-अन्डर ३४ मा सकाउने क्रममा सुवासले १० औँ, १२ औँ र १८ औँ होलमा एक-एक सट बचाए र १६ औँ होलमा बोगी खेपे ।
सञ्जयले खराब सुरुवात गरे। दोस्रो, चौथो र छैटौ होलमा बोगीको सामना गर्दै फ्रन्ट नाइन ३-ओभर ३९ मा सकाउन बाध्य भए। तर ब्याक नाइनमा सम्हालिदै ३-अन्डर ३३ को स्कोर निकाले। ११ औँ, १२ औँ,१५ औँ र १७ औँ होलमा बर्डीको सफलता प्राप्त गरे भने १८ औँ होलमा एक सट खेर फाले।
रबिले फ्रन्ट नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५-अन्डर ३१ को स्कोर गरे। पहिलो, दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गरे भने चौथो होलमा एक सट खेर फाले। र उनले तीन पारको आठौं होलमा होल इन वानको सफलता प्राप्त गरे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। १३औं र १४औं होलमा बोगीको सामना गर्दा १५औं होलमा एक सट बचाए।
७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया