जुनियर टेबलटेनिसः सुजन र वियंकालाई स्वर्ण
काठमाडौँ- ललितपुरका सुजन गेडाल र एभीएम टेबलटेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिसतर्फ स्वर्ण जितेका छन् । यु–१९ सिंगल्सको ब्वाइजमा सुजन तथा गर्ल्समा वियंकाले स्वर्ण जितेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व बानियाँ र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका गनञ्जय दाहाल तेश्रो भए । गर्ल्समा एभीएमकी इभाना थापा दोस्रो तथा मोर्डन कलेजकी दिया देउला र सुनसरीकी अन्जलीकुमारी ठाकुर तेश्रो बने ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१५ ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो, बुटवल टेबलटेनिस एकेडेमीका सौरव खड्का दोश्रो तथा एभीएमका एरिश शाक्य र गल्कोपाखा समाज सेवाका आर्यन शाही तेश्रो भए । उक्त स्पर्धाको गर्ल्समा स्ट्यागकी सुस्मिता खड्काले स्वर्ण, नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले रजत तथा प्रभातकी करिना सुवाल र सुनसरीकी सुलेखाकुमारी ठाकुरले कांस्य जिते । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई काठमाडौं महानगरपालिककी मेयर सुनिता डंगोल, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र उपमहासचिव सुवर्ण श्रेष्ठ, आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभागका प्रमुख महेन्द्र लिगललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आयोजकका अनुसार तीनदिने प्रतियोगितामा १ सय ६० खेलाडी सहभागी थिए ।
यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि १२ खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया