लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु
बुटवल- चौतर्फी दबाबपछि प्रदेश सरकारले बजेट निकासा गरेसंगै लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सञ्चालन भएको छ ।
प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । निर्धारित समयभन्दा एक दिनपछि मात्र प्रदेश सरकारले रोक्का गरेको बजेट फुकुवा गरेपछि एक दिन ढिला प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले युवाहरूलाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम हुन सक्ने बताए । उनले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यमा मात्र सीमित राख्न नहुने बताउँदै खेलकुदले समग्र देशको विकासमा भूमिका खेल्ने उल्लेख गरे । खेल जगत बहुआयामिक भएको उनको भनाइ छ ।
युवाहरूको भविष्य उज्जवल भएको चर्चा गर्दै राष्ट्रको जिम्मेवारी पनि युवाकै काँधमा रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दुर्व्यसनीमा लागेका युवालाई सही मार्गमा ल्याउने मुख्य माध्यम खेलकुद हुन सक्ने बताए ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सांसद सिके गुप्ता, कोशिश खड्का लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । उद्घाटन सत्रमा प्रदेश प्रमुख शेरचनले ब्यानर उडाउनुका साथै खेलकुद मशाल खेलाडीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा निर्णायकहरूको तर्फबाट पद्मा चोधरी र खेलाडीहरूको तर्फबाट तुलसीराम थारुले शपथ ग्रहण गरेका थिए ।
आज भएको खेलमा तेक्वान्दो तर्फ रूपन्देही २, दाङ २ तथा बाँके र नवलपरासीले १-१ स्वर्ण पाएका छन् । त्यसैगरी एथलेटिक्समा बाँके ४, दाङ ३ स्वर्ण, कपिलवस्तु ३ र बर्दियाले २ स्वर्ण जितेका छन् ।
प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरू प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगिता भोलिसम्म चल्ने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया