राष्ट्रपति रनिङ शिल्डः सुजल र आरुषीलाई स्वर्ण
काठमाडौँ- लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रातर्फ १ सय मिटर दौडमा स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशिल वलीले कांस्य जिते ।
छात्रातर्फ आरुषीले निर्धारित दूरी तय गर्न १३.७ सेकेन्ड समय खर्चिइन् । बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य हात पारे ।
छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा पूरा गर्दै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोश्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेश्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतीकला डाँगी दोश्रो तथा कोशी प्रदेशकी निला जिमी तेश्रो भए ।
छात्र हाइजम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाईं नाघे । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोश्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाईं नाघेकी गण्डकीकी सिमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कांस्य प्राप्त गरे । तीनदिने प्रतियोगितामा सात प्रदेशका १ सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया