खेलकुद

कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु

इकागज |
बैशाख १७, २०८० आइतबार १७:४१ बजे

कैलाली- कैलालीमा खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा तालिम सुरु भएको हो । एक कार्यक्रमका बीच तालिमको उद्‍घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले पछिल्लो समय पत्रकारिता क्षेत्रको विस्तार भइरहेको बताए । 


विगतमा केही सीमित विधामा मात्रै पत्रकारिता गर्ने प्रचलन रहेको बताउँदै उनले पछिल्लो समय भने सबै क्षेत्रमा कलम चलाउन थालिएको प्रति खुसी व्यक्त गरे । दई दिने तालिमले खेलकुद पत्रकारिता झनै गतिशील हुने उनको विश्वास थियो ।  

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पछिल्लो समय कैलालीमा खेलकुद पत्रकारितामा निकै सक्रियता देखिएको भन्दै खुसी व्यक्त गरे । 

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नवीन लुइँटेलले सबै क्षेत्रको पत्रकारिता गर्नका लागि ज्ञान आवश्यक रहेको बताउँदै दुई दिन प्रशिक्षण महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सुदूपश्चिम खेलकुद क्षेत्रका लागि निकै धनी क्षेत्र रहेको बताउँदै खेलकुदका गतिविधि उठान गर्नका लागि पत्रकारलाई पनि विज्ञता चाहिएको बताए । उनले खेल पत्रकारितामा निखारता ल्याउनका लागि नै अघिल्लो वर्षदेखि प्रशिक्षण दिन थालिएको बताए । 

कार्यक्रममा वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालयका खेल तथा विज्ञानका प्राध्यापक शुशील नरसिंह राणा, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नवीन लुइँटेल, टेलिभिजन खेल पत्रकार अनन्त वाग्ले र खेल पत्रकार यज्ञराज जोशीले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले जानकारी दिए । 

प्रशिक्षणमा कैलालीका ३० जना पत्रकारको सहभागिता रहेको वरिष्ठ उपाध्यक्ष शंकर बोहोराले बताए ।


Author

थप समाचार
x