तयार भयो पशुपतिघाट पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर
पोखराः पोखरा महानगरपालिका-३३ स्थित पशुपतिघाट पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको रंगशालाको बिआरएस इन्जिनियरिङ सोलुसनले डीपीआर तयार गरेको हो । बिआरएसले क्रिकेट मैदान निर्माण लागत १ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ लाग्ने प्रतिवेदन तयार गरेको छ ।
प्रदेश सरकारले डीपीआर निर्माण गर्ने जिम्मा गत वैशाखमा बिआरएसलाई दिने निर्णय गरेको थियो । बिआरएसले प्रारम्भिक डीपीआर असारमा बुझाउँदा रंगशाला निर्माण गर्न १ अर्ब १९ लाख खर्च लाग्ने अनुमान गरिएको थियो । प्रदेशले रंगशालाको सुविधा थपेर अत्याधुनिक बनाउने भनेपछि १ करोड ६३ करोड खर्च लाग्ने गरी डीपीआर बनेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं युवा तथा खेलकुद महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले जानकारी दिए ।
पोखरा ३३ मा रहेको पशुपतिघाटको १ सय ७४ रोपनी जग्गा सरकारले भोगाधिकार गर्ने स्वीकृति प्रदेश सरकारलाई दिएको थियो । आफूले भोगाधिकार पाएपछि प्रदेश सरकारले रंगशाला निर्माणको प्रक्रिया थालेको थियो । डीपीआर अनुसार सेती नदीको किनारमा रहेको मैदानका लागि १ सय २३ रोपनी जग्गा आवश्यक पर्छ ।
सेती नदीले यसअघिका वर्षमा पूर्वतर्फ कटान गर्ने गरेकाले पश्चिममा रंगशाला निर्माण गर्ने सोच प्रदेश सरकार बनाएको थियो । तर यसवर्षको वर्षामा नदीले पश्चिममा पनि कटान गरेपछि बिआरएसले जग्गा संरक्षणका लागि पनि डीपीआर बनाउने तयारी गरेको छ । बिआरएसका इन्जिनियर विशाल पुनमगरले पश्चिममा कटान गरेकाले आउँदा वर्षमा पनि रंगशालाका संरचनातर्फ कटान गर्न सक्ने भन्दै डीपीआर बनाउन लागिएको जानकारी दिए ।
‘पीच बनाउने काम सकेपछि कटान गर्दा हुन सक्ने क्षतिलाई हेर्दै जग्गा संरक्षण गर्न डीपीआर बनाउँछौं,’ पुनले भने । डीपीआर बनाउने विषयमा भौतिक तथा पूर्वाधार मन्त्रालयका प्राविधिकसँग छलफल भइरहेको पुनले बताए । अबको एक महिनामा नदी र त्यहाँका अन्य प्राकृतिक स्रोतबारे अध्ययन सकिने पुनले जानकारी दिए ।
निर्माण सुरु गर्नुअघि वातावरणीय प्रभाव मूल्याकंन गरिने मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्लेले जनाए । वातावरण संरक्षण ऐन २०७७ को प्रावधान अनुसार कुनैपनि मैदान तथा मानिस धेरै जम्मा भइरहने ठाउँमा वातावरणीय प्रभाव मूल्याकंन आवश्यक पर्छ । डीपीआर अनुसार रंगशालाभित्र अभ्यास नेट्स, पेभेलीयन, मिडिया बक्स, डिस्प्ले बोर्ड, पार्किङ तथा अन्य संरचना बनाइनेछन् । रंगशाला निर्माणको पहिलो चरणमा कंक्रिट डिफेन्स वाल लगाइने काफ्लेले बताए ।
आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले रंगशाला निर्माण गर्न २ करोड रुपैयाँ बिनियोजन गरेको छ । कुल अनुमानित खर्चको १.२३ प्रतिशत यो बजेटले यस वर्ष जग्गा संरक्षणको मात्र काम गर्न सकिन्छ । मन्त्रालयका प्रवक्ता काफ्ले भने आगामी वर्ष मुख्यमन्त्री कार्यालयले बजेट बढाउने आश्वासन दिएकाले बजेट बढ्ने सम्भावना रहेका बताउँछन् । काफ्लेले अबको २ वर्षमा मैदान खेल्न तयार हुनेछ । बाँकी संरचना निर्माणका काम क्रमानुसार बढाइने उनले बताए । दोस्रो चरणमा लेबलिङको काम हुनेछ । बिआरएस इन्जिनियरिङका इन्जिनियर पुनले पर्याप्त बजेट पाए ३२ महिनामा काम सक्ने बताए ।
अन्योलमा पोखरा अन्तर्राष्ट्रिय मैदान
पशुपतिघाट क्रिकेट मैदानका लागि २ करोड बजेट पर्दा यस आर्थिक वर्षमा पोखरा अन्तर्राष्ट्रिय मैदानका लागि केन्द्र सरकारले २५ लाख रुपैयाँमात्र छुट्टाएको छ । अघिल्लो वर्ष आएको ४ करोड रुपैयाँ काम नभएपछि फ्रिज भएको थियो । प्याराफिट, प्लेयर बक्स, पीचको स्तरोन्नति तथा तारजाली लगाउन भन्दै बजेट विनियोजन भएको थियो । यद्यपि चैतमा मात्र टेन्डर आह्वान गर्दा नपरेपछि काम हुन सकेन ।
अहिले परेको २५ लाख बजेट के शीर्षकमा खर्च गर्ने भन्नेबारे जिल्ला क्रिकेट संघ, कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलनै अन्योलमा छन् । तारजाली लगाउँदा करिब ३० लाख बजेट लाग्ने र अरु काममा पनि बजेट अपुग हुने भएपछि अन्योलता देखिएको हो । ‘फेन्सिङको काम नै ३० लाख लाग्छ, यो बजेटले के गर्ने हामी नै दोधारमा छौँ,’ सिग्देलले भने । अहिले अरु निकायबाट पैसा मागेरै भएपनि फेन्सिङको काम गर्ने तयारीमा आफुहरु रहेको उनले बताए ।
सिग्देल सरकारका ३ तहबीच समन्वय नहुँदा मैदान निर्माणका लागि यो आर्थिक वर्षमा पर्याप्त बजेट नपरेको बताउँछन् । उनले अझैपनि १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा खर्च भएको ४८ लाखमध्ये २८ लाखको भुक्तानी नपाएको बताए । यसकारण साग दौरान खरिद उपकरण फिर्ता गर्न चाहेको उनले बताए । ‘अहिलेसम्म सागको भुक्तानी पाएनौँ, सामान फिर्ता गर्ने मनसाय बनाएका छौँ । स्टोरमा पनि राखेपले मानिस राखिदिएपछि सामान अलपत्र परे,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया