खेलकुद

यौन दुर्व्यवहारविरुद्ध भारतीय कुस्ती खेलाडीको संघर्ष

इकागज |
बैशाख ३१, २०८० आइतबार १६:४८ बजे

तस्बिरः अलजजिरा

काठमाडौँ- भारतका ओलम्पिक तथा विश्व च्याम्पियनसीपमा सहभागिता जनाएका तथा भारतका लागि पदक जितेका करिब तीन हप्तादेखि नयाँ दिल्लीको ‘फुटपाथ’मा प्रदर्शन गरिरहेका छन् ।

दशकौंदेखि खेलाडीलाई यौन दुर्व्यवहार आरोप लगाउँदै रेस्लिङ फेडेरेसन अफ इन्डिया (डव्ल्यूएफआई) का अध्यक्ष ब्रिज भुषण शरण सिंहलाई पदबाट हटाउनुपर्ने तथा उनको पक्राउको माग गर्दै कुस्ती खेलाडीहरूले प्रदर्शन गरिरहेको अलजजिराले जनाएको छ ।


एक नाबालिगसहित सात महिला कुस्ती खेलाडीले आफूलाई पछ्याएको, यौन टिप्पणी गर्ने गरेको तथा अपमान गरेको आरोप लगाउँदै सिंहविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

उनीहरूमध्ये दुई महिला कुस्ती खेलाडीले आफ्नो श्वासप्रश्वास हेर्ने बहानामा सिंहले कैयौँ पटक रेस्टुरेन्ट, खेलका दौरान तथा फेडेरेसनको कार्यालयमा आफूहरूको स्तन तथा पेटमा छोएको आरोप लगाएका छन् ।

महिला कुस्ती खेलाडीहरूले सन् २०१२ देखि फेडेरेसनको अध्यक्ष रहेका तथा भारतीय जनता पार्टीबाट छैटौँ पटक संसद बनेका सिंह पक्राउ परेमात्र निश्पक्ष छानविन सम्भव भएको बताइरहेका छन् ।

तर सिंहले ती सबै आरोप झुटाे भएको तथा आफूले पद नछाड्ने अडान लिएका छन् । ‘यदी उनीहरूसँग कुनै भिडियो छ वा मैले उनीहरूलाई बोलाएको अथवा उनीहरूले एउटामात्रै आरोप प्रमाणित गर्नसके, म झुन्डिन तयार छु,’ सिंहले दावी गरे ।

सिंहले प्रदर्शन राजनीतिबाट प्रेरित रहेको तथा उनीहरूलाई विपक्षी पार्टी र व्यवसायीले सहयोग गरेको समेत आरोप लगाए ।

खासमा प्रदर्शन जनवरी १८ बाट सुरु भएको थियो । करिब ३० जना महिला र पुरुष कुस्ती खेलाडीले प्रदर्शन सुरु गरेका थिए र उनीहरूले कुनै पनि राजनीतिक दललाई प्रदर्शनमा सहभागी हुन दिएनन् ।

तीन दिनपछि खेलकुद मन्त्री अनुराग ठाकुरले एक छानविन समिति गठन भएको बताउँदै प्रदर्शन रोक्न माग गरेका थिए । ठाकुरले सिंहलाई छानविन पूरा नहुन्जेलसम्म राजीनामा दिन भनेको समेत दावी गरेका थिए ।

तर छानविन प्रतिवेदन खेलकुद मन्त्रालयमा पुगेपनि मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन । जसका कारण खेलाडीहरूले अप्रिल २३ देखि पुनः प्रदर्शन सुरु गरेका छन् ।

अप्रिल २५ मा खेलकुद मन्त्रालयले समितिको ‘मुख्य निष्कर्ष’ भनेको रेस्लिङ फेडेरेसन अफ इन्डियासँग कानूनद्वारा अनिवार्य मानिएको आन्तरिक गुनासो समितिको अभाव रहेको जनाएको छ । त्यससँगै मन्त्रालयले सिंह विरुद्धको आरोपलाई सम्बोधन गरेन र सिंहले त्यसपछि रेस्लिङ फेडेरेसन अफ इन्डियाको अध्यक्षतालाई निरन्तरता दिन थाले ।

सोही दिन खेलाडीहरूले सर्वोच्च अदातलमा मुद्दा दायर गर्दै अधिकारीहरूलाई सिंहविरुद्ध जाहेरी दर्ता गर्न माग गरेका थिए । तीन दिनपछि प्रहरीले दुईवटा जाहेरी दर्ता गर्‍यो । तर सिंह पक्राउ पर्न सकेका छैनन् ।

अहिले ओलम्पिक खेलाडी तथा कमनवेल्थ गेम्समा लगातार तीन पटक स्वर्ण पदक जितेका भिनेश फोगाटले आन्दोलनको अगुवाइ गरिरहेकी छन् । आन्दोलनमा टोकियो ओलम्पिकका कास्य पदक विजेता बजरंग पुनिया तथा रियो ओलम्पिकका कास्य विजेता साक्षी मलिक पनि रहेका छन् ।

तर उनीहरूले खेल जीवनलाई भने दाउमा राखेका छन् । प्रदर्शनमा उत्रिएका खेलाडीहरू र्‍याङ्किङ सिरिज तथा प्रतियोगितामा सहभागी हुन अस्वीकार गरेका छन् भने राज्यले दिएको पदक फिर्ता गर्ने चेतावनी समेत दिएका छन् ।


Author

थप समाचार
x