खेलकुद

अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई पुरस्कृत र प्रोत्साहन गरिने

इकागज |
जेठ ५, २०८० शुक्रबार १८:० बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय स्तरका खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कार तथा प्रोत्साहन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कृत र प्रोत्साहन गरिने बताएका हुन् ।

उनले वार्षीक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरी प्रतियोगिताहरुको आयोजना गरिने, एक वडा एक खेलमैदान तथा एक पालिका एक कभर्डहल निर्माण गरिने बताए ।


उनले खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिइने बताए ।

खेलकुद पूर्वाधारहरुको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने समेत पौडेलले बताए ।  

खेलकुद पर्यटनको विकास र विस्तार हुने खालका खेलकुद पूर्वाधारहरु सार्वजनिक नीजि साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने तथा आगामी दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्न सकिने व्यवस्था गरिने उनले बताए ।

चितवनको भरतपुर, कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान, बैतडीको दशरथ चन्द तथा मोरङको विराटनगर क्रिकेट रंगशालाको निर्माण कार्य अगाडी बढाइने भएको छ ।


Author

थप समाचार
x