मुकेश र राजपुरालाई हाफ म्याराथनको उपाधि
काठमाडौँ- त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले नवौँ कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । शनिबार राजधानीमा भएको हाफ म्याराथन जित्न मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्ड खर्चिए । उनी पहिलोपल्ट विजेता भएका हुन् ।
थापाथलीस्थित कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको हाफ म्याराथन दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको थियो ।
आर्मीकै राजन रोकाय दोस्रो भए । उनले १ घन्टा ७ मिनेट ५५ सेकेन्ड लगाए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो भए । उनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरे । आर्मीकै खड्काबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्ड र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डबाट क्रमशः चौथो र पाँचौं भए । गत वर्ष एपीएफका गोपीचन्द्र पार्कीले उपाधि जितेका थिए ।
महिलातर्फ राजपुराले उपाधि रक्षा गरिन् । गत वर्षकी विजेता पुलिसकी राजपुरा १ घन्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता भएकी हुन् । उनले गत वर्ष १ घन्टा १९ मिनेट ६ सेकेन्ड लगाएकी थिइन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । उनले १ घन्टा २३ मिनेट ०७ सेकेन्ड लगाइन् । एपीएफकी पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ३१ सेकेन्डबाट तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपाने १ घन्टा २६ मिनेट २३ सेकेन्डबाट चौँथो र गीता बिक १ घन्टा २९ मिनेट ३६ सेकेन्डबाट पाँचौं भए । हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पाउने पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।
रमेश खत्रीले ह्विलचियरतर्फ उपाधि जितेका छन् । ३ किलोमिटर दुरी उनले ७ मिनेट २६.७४ सेकेन्डमा पार थिए । दान थिङ दोस्रो भए । उनले ७ मिनेट ३५ सेकेन्ड लगाए । रामकाजी मिजार तेस्रो भए । उनले ८ मिनेट ५२.८४ सेकेन्डमा दौड पूरा गरे ।
महिलातर्फ ऐश्वर्या कुमाल विजेता भइन् । उनले १० मिनेट ९.७८ सेकेन्डमा दौड पुरा गरिन् । पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए । यामकुमारीले १० मिनेट ५१.०७ सेकेन्ड र पेमाले ११ मिनेट २५.१० सेकेन्डमा दौड पुरा गरेका थिए । ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया