काभा महिला भलिबल : श्रीलंका पाँचौँ स्थानमा
काठमाडौँ- कीर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रीलंकाले काठमाडौँमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचौँ स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न खेलमा श्रीलंकाले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौँ स्थान हात पारेको हो । एक पक्षीय खेलमा श्रीलंकाले कीर्गिस्तानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ । शनिबार नै सम्पन्न खेलमा माल्दिभ्सले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेट जित्दै सातौं स्थान हात पारेको हो । माल्दिभ्सले २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हराउँदै सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो । बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुङ्गाएको छ ।
प्रतियोगिता अन्तर्गत तेस्रो स्थानको लागि आइतबार नेपाल र उज्वेकिस्तानबीच प्रतिष्पर्धा हुनेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल दोस्रो सेमिफाइनल खेलमा काजकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग पराजित भएको थियो । उज्वेकिस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
उपाधिका लागि आइतबार नै भारत र काजकिस्तानबीच दिउँसो ४ बजे खेल हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया