१० क्लबले लिग सकिएपछि मात्र खेलाडी रिलिज गर्ने
काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ ले पाउने रकम उपलब्ध नगराउँदासम्म असन्तुष्ट १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई रिलिज गर्ने जनाएका छन् । बिहीबार बसेको १० क्लबको बैठकले एन्फाबाट पाउनुपर्ने आर्थिक सहयोग नपाएको भन्दै आफ्ना खेलाडीलाई राष्ट्रिय क्याम्पका लागि रिलिज नगर्ने जनाएका हुन् ।
यस्तै क्लबहरूले जेठ १९ गतेपछिका लिग खेलमा विरोध स्वरूप टोलीका खेलाडी तथा पदाधिकारीहरू कालोपट्टी लगाएर मैदानमा उपस्थित हुने निर्णय पनि गरेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए ।
बैठकमा तीन विभागीय र जावालखेल युथ क्लबबाहेका अन्य क्लबका पदाधिकारीहरूको उपस्थिति थियो भने लिखित रूपमा सहमति जुटाएका हुन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ गते सकिँदैछ । त्यस लगत्तै एन्फाले खेलाडीलाई भारतमा आयोजना हुने साफ च्याम्पियनसिपको क्याम्प राख्ने निर्णय गरेको छ ।
शीर्ष लिग जारी रहेकै अवस्थामा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले साफ च्याम्पियनसिपका लागि मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।
साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुँदैछ । साफ अगाडि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउँदै छन् । फिफाको प्रतिबन्धको कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया