खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डकाे सहप्रायोजक स्वस्तिक अस्पताल

इकागज |
जेठ १९, २०८० शुक्रबार १६:४५ बजे

कैलाली- धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सह-प्रायोजकका रूपमा स्वस्तिक अस्पताल जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि धनगढीको चटकपुरमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीयालिटी हस्पिटल (स्वस्तिक अस्पताल) ले मुख्य सह–प्रायोजकका रूपमा सहयोग गर्ने भएको हो । 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठक र स्वस्तिक अस्पतालका अध्यक्ष महेशराज जोशीले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । स्वस्तिक अस्पतालले प्रायोजन गरेसँगै मुख्य सह प्रायोजकका रूपमा अस्पताललाई स्थान दिइनेछ । अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमीपछि ईन एसोसिएसन विथ रूपको स्वस्तिक अस्पतालले अवार्डमा स्थान पाउनेछ ।    


सह–प्रायोजकका रूपमा स्वस्तिक अस्पताललाई अवार्डमा जोडिने अवसर दिएकोमा अस्पतालका अध्यक्ष महेशराज जोशीले स्वास्थ्य र खेलकुद क्षेत्रसँग एक अर्कासँग जोडिएकाले देशका गहना खेलाडीलाई सम्मान गर्ने कार्यक्रममा हातेमालो गर्दै अगाडि बढेको बताए । उनले अवार्डमा जोडिन पाएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै अवार्डको सफलताको कामनासँगै अवार्डलाई निरन्तर रूपमा सहयोग समेत गर्ने प्रतिबद्धता जनाए । 

हालै सञ्चालनमा आएको धनगढी उपमहानगरपालिका-३ चटकपुरमा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलले आफ्नो सेवा सुरु गरिसकेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म उपलब्ध नरहेका स्वास्थ्य सेवाहरूसहितका विशेषज्ञ सेवाहरू अस्पतालले दिन थालेको छ । अस्पतालले इमर्जेन्सी, फार्मेसी, प्रयोगशालासहितका केही विशेषज्ञ सेवाहरूसहित दिइरहेको छ । 

२५ शय्याको अस्पतालमा आईसियू, एनआईसियु, पिआईसियु, सिटि स्क्यानका साथै हाडजोर्नी तथा नशारोग विशेषज्ञ, फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, मेरुदण्डको जटिल शल्यक्रिया विशेषज्ञ, जनरल मेडिसिन (पेट, छाती, मुटु, सुगर, प्रेसर) विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, युरोलोजी लगायतका विशेषज्ञ सेवाहरूहरू सञ्चालनमा आएका छन् ।

यसका साथै यस क्षेत्रमा नभएका मुटु र क्यान्सर रोगका साथै टेष्टट्युब बेबी र प्लाष्टिक सर्जरी सेवालाई धनगढीमा ल्याएको अस्पतालले यी सेवाहरू पनि सञ्चालनको तयारीमा रहेको जनाएको छ । मुटुरोग र क्यान्सर रोग सम्बन्धीको विशेषज्ञ सेवा र जटिल प्रकृतिका शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने बाध्यता रहँदै आएकोमा अब यी सेवाहरू पनि धनगढीमै पाइने र ती सेवाहरू सुचारु गर्नका लागि काम भइरहेको अस्पतालका अध्यक्ष जोशीले बताए ।

अस्पतालमा मुटुको भल्भ बन्द भएको पत्ता लगाउने एबीपि, टिएमटी हल्टर सेवा, स्तनको क्यान्सरको रोग पत्ता लगाउने म्यामोग्राम सेवा, दाँतको अत्याधुनिक एक्सरे (ओपीजी) सेवा, टेष्ट ट्युब बेबी/आईभिएफ तथा अंकोलोजी सेवाहरू पनि दिनेछ । जसबाट यहाँका बिरामीहरू लाभान्वित हुने अपेक्षा अस्पतालले राखेको छ । ती उपचार सेवा पाउनका लागि पनि महँगो शुल्क तिर्नु नपर्ने स्वस्तिक कार्डियो एण्ड मल्टिस्पोसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले बताए ।

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । प्रायोजक प्रवर्द्धकहरूकाे खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ । धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले मुख्य प्रायोजन गरेको अवार्डमा सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेटो हस्पिटल र सुदूरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।


Author

थप समाचार
x