रग्बीको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिन्छ : मन्त्री लिम्बू
काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताएका छन् ।
भक्तपुरस्थित सानोठिमी चौरमा शनिबारबाट आयोजना भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले सगरमाथाको देश, बुद्धको देशबाट नेपाल अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए जस्तै रग्बीले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्ने बताएका हुन् । त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दुई दिने प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन् । सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सहभागी हुनेछन् । तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी हुने छैनन् ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा सञ्चालन हुन गइरहेको एसिया रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया