खेलकुद

एशियाडका लागि ४ खेलाडी छनौट

इकागज |
जेठ २३, २०८० मंगलबार २१:३४ बजे

काठमाडौँ- नेपाल पौडी संघले चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ ।

संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९ औं एशियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएका हुन् ।


छनोट हुने खेलाडीहरूमा पुरुषतर्फ एलेक्जेण्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन  तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा रहेका छन् । एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए ।

वैकल्पिक खेलाडीमा पुरुषतर्फ विकास कुमाल र महिलातर्फ अनुशिया तण्डुकार रहेका छन् । कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए ।

अध्यक्ष बज्राचार्यका अनुसार यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गइरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वर्ल्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् ।


Author

थप समाचार
x