सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप
उपाधि एमेच्योर सुबाशलाई
काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश तामाङले जितेका छन् ।
उनले अन्तिम दिन ७–अन्डर ६५ को उत्कृष्ट स्कोर गरे । समग्रमा २१–अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराए । सुबाशको यो सिजनको दोस्रो र करियरको पाँचौं प्रो उपाधि हो । उनले आज प्रो र एमेच्योर दुवैतर्फको ट्रफी आफ्नो नाममा लेखाउँदै सिजनको अन्त्य सानदार गरे ।
प्रोफेसनल गल्फरहरूले यो पटक पनि एमेच्योर खेलाडीको चुनौती पन्छाउन सकेनन् । राष्ट्रिय टिमका खेलाडी युवा गल्फर सदभावले १–अन्डर ७१ सहित समग्रमा १७–अन्डर २ सय ७१ को स्कोरमा दोस्रो स्थान प्राप्त गरे । उनी एमेच्योरर्फ पनि दोस्रो भए ।
धरानका नीरज तामाङले आज ४–अन्डर ६८ को स्कोर निकाले र समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भए । प्रोफेसनलतर्फ उनी पहिलो भए । उनले २ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरे ।
डिफेन्डिङ च्याम्पियन शुक्र बहादुर राईले ४–अन्डर ६८ मा खेल सकाउँदा समग्रमा ११–अन्डर २ सय ७७ सहित चौंथो स्थान प्राप्त गरे । प्रोतर्फ दोस्रो हुदै उनले १ लाख ७० हजार प्राप्त गरे । यो पुरस्कार राशीमा शुक्रले नम्बर एक खेलाडीको स्थानलाई जोगाएका छन् । यो सिजन उनले कुल ६ लाख ३४ हजार प्राप्त गर्दै सर्वाधिक पुरस्कार हात गरे ।
भुवन नगरकोटीले समग्रमा ५–अन्डर २ सय ८३ स्कोर गरे । अन्तिम दिनको खेल इभन–पार ७२ मा सकाउँदै भुवन पाँचौ भए । प्रोतर्फ उनी तेस्रो भए र १ लाख २० हजार प्राप्त गरे । २–ओभर ७४ स्कोर गर्दै समग्रमा ३–अन्डर २ सय ८५ सहित दिनेश प्रजापति छैटौं भए । प्रोतर्फ चौथो भएका उनले नगद एक लाख प्राप्त गरे ।
यसैगरी समग्रमा १–अन्डर २ सय ८७ सहित तोरण विक्रम शाही सातौं भए । उनले आज इभन–पार ७२ मा खेल सकाए । प्रोतर्फ भने पाँचौ हुदै उनले ८६ हजार हात पारे । ३–ओभर ७५ सहित समग्रमा १–ओभर २ सय ८९ को स्कोरमा शिवराम पौडेल आठौं भए । उनले ७९ हजार नगद प्राप्त गरे ।
प्रोतर्फ उनी छैटौं स्थानमा आए । समग्रमा २–ओभर २ सय ९० सहित जयराम श्रेष्ठले ७३ हजार प्राप्त गरे । उनले आज ४–ओभर ७७ मा खेल सकाए । प्रोतर्फ उनी सातौ भए । पुर्ण प्रसाद शर्मा र राजेन्द्र थापा मगरले प्रोतर्फ संयुक्तरुपमा आठौं स्थान बाँडे । उनीहरूले समग्रमा ३–ओभर २ सय ९१ स्कोर गरे । उनीहरूले जनही ६५ हजार प्राप्त गरे ।
अन्तिम १८ होलको खेल बाकी छँदा सुबाश सदभाव भन्दा दुई स्ट्रोकले पछि थिए । सुबाश र तेस्रो दिनका लिडर सदभावले फ्रन्ट नाइन समान ३–अन्डर ३३ मा सकाए । दुवैले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । अन्तिम नौ होलको खेल बाकी छँदा सदभावसँग दुई स्ट्रोकको अग्रता कायमै थियो । तर ब्याक नाइनमा सदभावले खेल बिगारे ।
१६औं होलमा बर्डी प्रहार गरेपनि १०औं, १३औं र १४औं होलमा एक–एक सट खेर फाले । यता सुबाशले भने १०औं देखि १३औं होलसम्म लगातार तीन बर्डी प्रहार गरे । १४औं होलमा एक सट खेर फाले पनि ५–पारको १५औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइन ४–अन्डर ३२ मा पुरा गरे र सहजै उपाधि आफ्नो नाममा लेखाए ।
नीरजले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । दोस्रो, तेस्रो र आठौं होलमा बर्डी प्रहार गर्दा चौंथो होलमा बोगी खेपे । यसपछि १३औं र १५औं होलमा एक–एक सट खेर फाले । उपाधि रक्षा गर्न चुकेका शुक्रले पनि फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । उनले पहिलो, तेस्रो, सातौं तथा ११औं देखि १४औं होलमा चार गरी कुल सात बर्डी प्रहार गरे । उनले नवौं, १५औं र १८औं होलमा बोगी खेपे ।
सुर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रबि के रायभरम, एनपीजीएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे । प्रोफेसनल गल्फर्स एसोसिएसन एनपीजीए नेपालद्वारा आयोजित तथा सुर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता रहेको थियो । कुल १५ लाख २० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोली प्रो–एम प्रतियोगिता हुनेछ । कूल २५ प्रो र १०० कर्पोरेट खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया