खेलकुद

भाजपा सांसद सिंहमाथि यौन दुर्व्यवहारको आरोप, पीडित भन्छिन्- प्रधानमन्त्री मोदी मौन बसे

इकागज |
जेठ २९, २०८० सोमबार १२:३८ बजे

काठमाडौँ- भारतका लागि दुई पटक ओलम्पिक खेलिसकेकी तथा रेस्लिङ फेडेरेसन अफ इन्डिया (डब्लुएफआई) का अध्यक्ष वृज भुषण शरण सिंहमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी कुस्ती खेलाडी भिनेश फोगाटले यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी मौन रहेको आरोप लगाएकी छन् ।

अल-जजिराले जनाएअनुसार फोगाटले भारतीय प्रधानमन्त्री मोदीको मौनताले आफूलाई दु:खी बनाएको बताएकी छन् ।


भारतीय जनता पार्टीका नेता तथा सांसद वृज भुषणलाई पक्राउ गर्नुपर्ने माग गर्दै भिनेश फोगाटसँगै ओलम्पिक पदक विजेता साक्षी मलिक र बजरंग पुनियाले महिनौदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

फोगाटसँगै सात जनाले यौन दुर्व्यवहार गरेको भन्दै डब्लुएफआईका अध्यक्ष वृज भुषणविरुद्ध जाहेरी दर्ता गराएका छन् ।

तर फोगाटले भने यौन दुर्व्यवहार जस्तो मुद्दामा प्रहरी सक्रियतालाई लिएरसमेत प्रश्न गरेकी छन् । उनले प्रदर्शन गर्ने हिम्मत गरेदेखि आफूले अपमानित मात्र भएको बताइन् ।

यता वृज भुषणले भने आफूमाथि लगाइएको आरोप निराधार भएको दाबी गर्दै आएका छन् । तर दिल्ली प्रहरीले वृज भुषणमाथि दुई वटा मुद्दा दर्ता गरेको छ ।

कमनवेल्थ गेम्स र एसियन गेम्समा भारतका लागि स्वर्ण पदक जित्ने पहिलो कुस्ती खेलाडीको कीर्तिमान बनाएकी फोगाटले लगाएको आरोपअनुसार वृज भुषणले अभ्यास तथा प्रतियोगिताका दौरान युवा खेलाडीहरूलाई छुट्टै राख्नुका साथै उनीहरूमाथि दुर्व्यवहार गर्ने गरेका थिए । उनले त्यसको सिकार आफू पनि भएको दाबी गरेकी छन् ।

तर यस विषयमा प्रधानमन्त्री मोदीले केही नबोल्नुले आफूलाई भावनात्मक रुपमा कमजोर बनाएको फोगाटको भनाइ छ ।


Author

थप समाचार
x