राइजिङ स्टार टेनिसः बोरिस र शिभालीलाई स्वर्ण
काठमाडौँ- बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू–१४ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । बोरिस ब्वइज तथा शिभाली गर्ल्समा पहिलो भए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे । गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई सीधा सेटमा ६–० र ६–१ ले सहजै हराइन् ।
राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशीको टेनिस प्रतियोगिताअन्तर्गत यु–१६ सिंगल्सको ब्वाइजमा शंकर हैस्नान र गर्ल्समा सुनिरा थापा पहिलो भए । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ को सेटमा पाखा लगाए । सुनिराले शिभालीलाई दोहोरो स्वर्ण जित्नबाट रोक्न ६–२, ५–७ र ६–१ को नतिजामा विजयी भइन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी पहिलो बने । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ को सोझो सेटमा पन्छाए ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ ले निराश पार्दै स्वर्ण जिते । ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ को सहज जित दर्ता गर्दै शीर्ष स्थान हात पारे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ तथा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त स्पर्धाको फाइनलसँगै पुरुष/महिला सिंगल्सको पनि फाइनल हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया