खेलकुद

हेटाैंडामा दाेस्राे विजय यूथ गाेल्डकप हुने

इकागज |
असार २, २०८० शनिबार १८:१८ बजे

मकवानपुर- बागमती प्रदेशकाे राजधानी हेटाैंडामा दाेस्राे विजय यूथ गाेल्डकप हुने भएकाे छ । शनिबार विजय यूथ क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता असार ५ गतेबाट १५ गतेसम्म हुने जानकारी दिएकाे हाे ।

खेलाडीहरूको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना गर्दै फुटबलको विकासका निम्ति क्लबले दोस्रो विजय यूथ गोल्डकपको आयोजना गर्न लागेको क्लब अध्यक्ष सुदिप राजवाहकले जानकारी दिए । हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियाेगितामा १६ टिमकाे सहभागिता रहने छ ।


प्रतियाेगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लब, हटिया भेट्रान्स क्लब, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लब, एफसी विजय यूथ, अग्रसर यूथ क्लब, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लब, चौकीटोल यूथ क्लब, पशुपति युवा क्लब, हेटौंडा फुटबल एकेडेमी ए काे सहभागिता रहने राजवाहकले बताए ।

गाेल्डकपकाे विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार रुपैयाँ प्रदान गरिने राजवाहकले बताए । प्रतियोगिताकाे विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँँसहित ट्रफी / प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कारकाे व्यवस्था रहेकाे उनले जानकारी दिए ।

असार ५ गते बेलुका ४ बजे हुने उद्घाटन खेल एफसी विजय यूथ र अग्रसर यूथ क्लबबीच हुने तालिका छ । प्रतियाेगितामा अनुमानित १३ लाख खर्च आयाेजकले जनाएकाे छ ।
 


Author

थप समाचार
x