खेलकुद

मदन स्मृति ब्याडमिन्टन कप :पूर्व मुख्यमन्त्री राजेन्द्र र सांसद लिलबहादुरलाई उपाधि

इकागज |
असार २०, २०८० बुधबार १६:२० बजे

काठमाडौँ- कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई फाईनलमा २१–१७, २१–१९ ले पराजित गर्दै उपाधि जितेका हुन् ।


प्रतियोगितामा पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा नवराज सिलवाल र पूर्व मन्त्री भानुभक्त ढकालको जोडी संयुक्त तेश्रो भए ।

नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको प्रतियोगिताको फाईनल प्रवेश गर्ने क्रममा राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१–१६, २१–१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले पराजित गरेका थिए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश कुमार तिमल्सिना, नेकपा एमाले खेलकुद इन्चार्ज कर्ण थापा, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

मदन भण्डारीको ७२ औँ जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा संविधान सभा सदस्य, भूपु तथा वर्तमान राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य एवं मन्त्रीहरु गरि ६४ जोडीको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x