खेलकुद

किन टोटनहम छाड्न चाहन्छन् ह्यारी केन ? उनको कमी कसले पूरा गर्ला ?

इकागज |
जेठ ५, २०७८ बुधबार १४:१५ बजे

काठमाडौँ: ह्यारी केन टोटनहमको इतिहासकै उच्च गोलकर्ता हुन् । उनले ३ सय ३४ खेलमा १ सय १९ गोल गरेका छन् । अनि टोटनहमका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा पनि केन छन् । उनी भन्दा जम्मा तीन खेलाडीले मात्रै टोटनहमको जर्सीमा धेरै खेल खेलेका छन् । 

उनै केनले टोटनहम छाड्ने निधो गरेका छन् । आउँदो सरुवा बजारमा आफूले क्लब परिवर्तन गर्न चाहेको सन्देश केनले टोटनहमलाई दिइसकेका छन् । २७ वर्षीय स्ट्राइकर केन सन् २०१३ यता टोटनहमको सिनियर टिममा छन् । टोटनहम एकेडेकमीकै उत्पादन केन सानै उमेरदेखि टोटनहम समर्थक हुन् । अनि उनी हालको टोटनहम टिममा सबैभन्दा ठूलो स्टार पनि हुन् । 


किन टोटनहम छाड्न चाहन्छन् केन?

तर पनि केन किन टोटनहम छाड्न चाहन्छन् ? उत्तर आउँछ, उपाधिको खोजी गर्न । केनले टोटनहममा कुनै उपाधि जित्न सकेका छैनन् । उनी आउँदो जुलाई २८ मा २८ वर्ष पुग्नेछन् । खेल प्रदर्शनका हिसाबले केन करियरकै उत्कर्षमा छन् । यही बेला अर्को ठूलो क्लबसँग अनुबन्ध भई उपाधि जित्ने केनको चाहना हो । 

टोटनहममा केन उपाधि नजिक पुग्न नसकेका होइनन् । माउरिसियो पोचेटिनाको प्रशिक्षणमा टोटनहमले च्याम्पियन्स लिगको फाइनल खेल्यो । त्यसबाहेक टोटनहमले उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । पोचेटिनोलाई प्रतिस्थापन गरेका जोसे मौउरिन्होले पनि टोटनहममा कुनै जादु देखाउन सकेनन् । उनको बर्खास्तीपछि टोटनहम अध्यक्ष डानियल लेभीले नयाँ प्रशिक्षक भेटेका छैनन् । त्यसकारण पनि केन टोटनहममा उपाधि जित्ने सम्भावना नरहेको निचोडमा पुगेका हुन् । 

केनले युरोपकै अर्को ठूलो क्लब जाने इच्छा व्यक्त गरेको भए पनि उनको स्थान्तरण सजिलै हुने छैन । उनले सन् २०१८ मा मात्रै टोटनहमसँग सम्झौँता नविकरण गरेका थिए । टोटनहमसँगको उनको सम्झौँता सन् २०२४ मा मात्रै सकिदैँछ । त्यसकारण पनि लन्डन क्लब केनलाई बेच्नुपर्ने दबाबमा छैन । यद्यपि बेलायती अखबारहरूको दाबी मान्ने हो भने टोटनहम अध्यक्ष लेभी र केनबीच ‘जेन्टलम्यान एग्रिमेन्ट’ छ । जसका कारण लेभी केनलाई अर्को ठूलो क्लब जान दिन राजी छन् । तर त्यसको मूल्य छ । 

केनको सम्भावित गन्तव्य  

केनको बजार मूल्य १५ करोड पाउण्ड रहेको बताइन्छ । उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी इच्छुक छन् । चेल्सीको पनि नजर केनमाथि छ । तर यी क्लबमध्ये सिटी, केनको सम्भावित गन्तव्य रहेको अनुमान गर्न सकिन्छ । अन्य क्लब भन्दा सिटी आर्थिकरुपमा बलियो रहेकाले पनि सिटीले केनलाई भजेजती मुल्य तिरेर अनुबन्ध गर्न सक्छ । फेरि सर्जियो अग्वेरोको बर्हिगमनसँगै सिटीलाई भरपर्दो स्ट्राइकरको खाँचो पनि छ । 

टोटनहम अध्यक्ष लेभी भने केन अर्को इंग्लिस क्लबसँग अनुबन्धित नहुन भन्ने चाहन्छन् । तर बार्सिलोना र रियल म्याड्रिड जस्ता कलब आर्थिक संकटमा रहेकाले केन स्पेन जाने सम्भावना न्यून छ । उता बायर्न म्युनिखसँग रोबर्ट लेवान्डास्की र युभेन्टसमा क्रिस्टियनो रोनाल्डो रहेकाले केन ती क्लबसँग जोडिएका छैनन् । उल्लेखित क्लब बाहेक पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग केनलाई अनुबन्ध गर्न पर्याप्त आर्थिक स्रोत छ । पीएसजीमा केनका पूर्व प्रशिक्षक पोचेटिनो पनि छन् । तर केनलाई फ्रेन्च लिग वानले आर्कषित नगर्न सक्छ । 

केनलाई प्रतिस्थापन कसले गर्ला 

अब प्रश्न उठ्छ, टोटनहममा केनलाई प्रतिस्थापन गर्ने कसले ? हो, टोटनहमले केन विक्रीवापत ठूलो रकम प्राप्त गर्नेछ । त्यस्तै केनको बर्हिगमनले टोटनहमको खर्च कम हुनेछ । किनभने टोटनहममा केनको तलब अन्य खेलाडीको भन्दा बढी छ । तर मैदानमा टोटनहमका लागि केनको जस्तो प्रदर्शन गर्ने अर्को खेलाडी छैन । उनी नहुँदा टोटनहमको टिममा पर्याप्त गोल गर्ने खेलाडी को भन्ने प्रश्न उठ्छ । केनको नेतृत्वको महत्व त छँदैछ । त्यसकारण टोटनहमलाई केनकै स्तरको खेलाडीको आवश्यकता छ । 

टोटनहमले केनलाई प्रतिस्थापन गर्न सक्ने खेलाडीको खोजी गरिरहेको छ । एर्लिङ हालान्ड लेभीको नजरमा परेका छन् । तर नर्वेजियन फरवार्ड टोटनहम जान इच्छुक नरहन सक्छन् । एभरटनका काल्भर्ट लेविन र एस्टन भिल्लाका ओल्ली वाट्किन्स पनि टोटनहमसँग जोडिएका छन् । तर यी युवा खेलाडी केनले छाडेको भार बोक्न सक्षम नहुन सक्छन् । 

उसो त टोटनहम नयाँ फरवार्ड खोज्न इंगल्यान्ड बाहिर पनि पुग्न सक्छ । फ्रेन्च क्लब राम्सका २४ वर्षिय स्ट्राइकर बुले डिया टोटनहमका लागि आर्कषक विकल्प हुन सक्छन् । उनले जारी फ्रेन्च लिगमा ३५ खेलमा १४ गरेका छन् । त्यस्तै इटालियन क्लब टोरिनोका आन्दे्रइ बेलोट्टी र अस्ट्रियन क्लब पाटसन डाका पनि टोटनहममा फिट हुनसक्ने स्ट्राइकर हुन् । बेलोट्टी र डाका दुवै आ–आफ्ना क्लब छाड्न इच्छुक रहेकाले पनि टोटनहमका लागि यी खेलाडी उपलब्ध हुनसक्छन् । 


Author

थप समाचार
x