खेलकुद

युरो २०२० : मुलर र हुमल्स जर्मन टिममा फर्किए

इकागज |
जेठ ५, २०७८ बुधबार १७:४३ बजे

काठमाडौँ: थोमस मुलर र माट हुमल्स जर्मन राष्ट्रिय टिममा फर्केका छन् । २०१८ विश्वकप जितेपछि जर्मनीको टिमबाट बाहिरिएका मुलर र हुमल्स आउँदो युरोका लागि राष्ट्रिय टिममा फर्केका हुन् । 

२०१८ विश्वकपमा खराब प्रदर्शन गरेपछि जर्मन टिममा परिवर्तन गरिएको थियो । युवा खेलाडीलाई मौका दिने भन्दै मुलर, हुमल्स र जेरोम बोएटेङ लगायतका अनुभवी खेलाडीलाई जर्मन टिम भन्दा बाहिर राखिएको थियो । यद्यपि जर्मनीले पछिल्ला १८ महिनामा खराब प्रदर्शन गर्‍यो । 


बायर्न म्युनिखका फरवार्ड मुलर र बोरुसिया डर्टमन्डका रक्षक हुमल्सले यस सिजन बुन्डेसलिगामा सन्तोषजनक खेल देखाएका छन् । बायर्नलाई च्याम्पियन बन्‍न मुलरले ११ गोल गरे भने १८ असिस्ट दर्ता गरेका छन् । उता हुमल्स बोरुसियाको मुख्य रक्षक रहँदै आएका छन् । 

योकिम लोले घोषणा गरेको २६ सदस्यीय टोलीमा म्यानूएल नुएर स्वभाविक रूपमा प्रमुख गोलरक्षकका रूपमा रहेका छन् । दोस्रो रोजाईका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन घाइते भएकाले आर्सनलका बर्नाड लेनोलाई टिममा समावेश गरिएको छ । त्यस्तै, फ्रान्फर्टका केभिन ट्राप पनि लोको रोजाइमा परेका छन् ।  

इंग्लिस प्रिमियर लिग खेलिरहेका रोबनि कोच (लिड्स युनाइटेड) का साथै चेल्सीका एन्टोनियो रुडिगर, टिमो बेरनर र काई हार्बट्स पनि टिममा परेका छन् । त्यस्तै, म्यानचेस्टर सिटीका एल्काई गुन्डोगन पनि जर्मन टिमको हिस्सा बनेका छन् । 

युरोमा जर्मनी समूह एफमा छ । समूह चरणका खेलमा जर्मनीले फ्रान्स, पोर्चुगल र हंगेरीको सामना गर्नेछ । जर्मनीका सबै खेल म्युनिखको आलियान्ज एरेनामा हुनेछन् । युरोका खेलहरू जुन ११ देखि जुलाई ११ सम्म युरोपका ११ सहरमा हुनेछन् । 


Author

थप समाचार
x