खेलकुद

नेपाल पुलिस र टिपटपको लगातार जित

इकागज |
असार २६, २०८० मंगलबार २०:८ बजे

काठमाडौँ- नेपाल पुलिस क्लब र  टिपटप हेल्प नेपालले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन पनि जित निकालेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा भएको लिग प्रतियोगितामा आज नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० ले पराजित गरेको छ । पुलिसले २५–२१, २५–१९, २५–१७ को सोझो सेटमा जित हात पारेको हो । पुलिसको ३ खेलबाट ८ अंक भएको छ । पुलिसले आफूले खेलेका ३ वटै खेल जिते पनि गण्डकीसँग अंक बाँडेको थियो ।


यस्तै पुरुषतर्फकै अर्को खेलमा टिपटप हेल्प नेपालले पनि आफ्नो तेश्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबमाथि ३–० को  जित निकालेको छ । हेल्प नेपालले गण्डकीमाथि २५–२२, २५–१७, २८–२६ को जित निकालेको हो । यस जितका साथ हेल्प नेपालको ९ अंक भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले एभरेष्ट भलिबल क्लबलाई २५–९, २५–१२, २५–११ को सोझो सेटमा पराजित गर्दै थप ३ अंक जोडेको छ । एपिएफको ३ खेलबाट ८ अंक भएको छ । एपिएफले आर्मीसँग अंक बाँडेको थियो ।

न्यू डायमन्ड र आर्मीबीच भएको खेलमा न्यू डायमन्डले ३–२ सेटको जित आत्मसाथ गर्यो । पहिलो र दोश्रो सेट २५–१५, २५–२१ ले आफ्नो पक्षमा पारेको डायमन्डले तेश्रो र चौथो सेट १९–२५, २२–२५ ले आर्मीलाई सुम्पन पुग्यो । पाँचौ तथा अन्तिम सेटमा डायमन्डले १५–९ ले खेललाई आफ्नो पक्षमा पार्दै खातामा थप २ अंक जोडेको हो । हारका बाबजुद आर्मीको यो सहित २ अंक भएको छ ।

राउण्ड रोविन लिगमा क्लबले प्राप्त गरेको अंकको आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गर्ने टोलीबीच फाइनल स्पर्धा हुने र प्रधानमन्त्री कपको उपाधि प्राप्त गर्ने अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले जनाएका छन्  ।


Author

थप समाचार
x