खेलकुद

पुलिसद्वारा आर्मी पराजित

इकागज |
असार २८, २०८० बिहीबार १८:५९ बजे

काठमाडौँ- त्रिभुवन आर्मी क्लब सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिससँग पराजित भएको छ ।

चौँथो खेलसम्म अपराजित आर्मीलाई आज सम्पन्न पाँचौ खेलमा पुलिसले ३–० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो । पुलिसले २५–२१, २८–२६, २५–१४ ले आर्मीलाई पराजित गरेको हो । यसका साथ पुलिसको ५ खेलबाट १२ अंक भएको छ । पुलिस अंक तालिकामा दोश्रो स्थानमा उक्लिएको छ । आर्मीको पाँच खेलमा ११ अंक भएको छ ।


नेपाल भलिबल संघको आयोजनामा जारी लिगको पाँचौ खेलमा पनि अविजित यात्रालाई कायम राख्दै टिपटप हेल्प नेपाल अंक तालिकाको अग्र स्थानमा उक्लिएको छ । निकै नै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा टिपटपले एपिएफलाई ३–२ सेटमा पराजित गर्दै थप २ अंक जोड्न सफल भएको हो । हेल्प नेपालले पहिलो सेट २७–२५, २५–१७ ले जितेर खेललाई २–० का साथ आफ्नो पक्षमा पारेको थियो ।

तर, एपिएफले तेश्रो र चौथो सेट २५–२१ २५–२३ ले जित्दै खेललाई २ – २ को बराबरीमा ल्यायो । अन्तिम तथा निर्णायक पाँचौ सेटमा टिपटप हेल्प नेपालले एपिएफको म्याच प्वाईन्ट १४–११ को स्थितिलाई उल्टाउँदै १६–१४ अंकका साथ जित हात पार्यो । यसका साथ टिपटपको पाँच खेलबाट १३ अंक भएको छ भने २ सेट जितेर १ अंक बटुलेको एपिएफको ११ अंक भएको छ । समान अंक भएता पनि अंक रेसियोका आधारमा एपिएफ आर्मी भन्दा पछाडी रहेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको महिला तर्फको खेलमा भने आर्मी र एपिएफले जित हात पारे । आर्मीले एकपक्षीय खेलमा एभरेष्ट भलिबल क्लबलाई २५–१२, २५–१९, २५–१९ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१८, २५–१२ ले पराजित गर्यो ।

महिलातर्फ पुलिस ४ खेलबाट १२ अंक, एपिएफ ५ खेलबाट ११ अंक, न्यु डायमन्ड ४ खेलबाट ८ अंक, आर्मी ४ खेलबाट ५ अंक, गण्डकी ४ खेलबाट ३ अंक र एभरेष्ट ५ खेलबाट ० अंकमा रहेका छन् । अंकका आधारमा पुलिस फाईनल प्रवेश गरेको छ ।


Author

थप समाचार
x