नेपाल पुलिसका दुवै टोली फाइनलमा
काठमाडौँ- नेपाल पुलिस क्लबका महिला र पुरुष दुवै टोली सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग २०८० को फाइनल प्रवेश गरेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा भएको लिगको महिलातर्फको आजको अन्तिम खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलको अविजित यात्रा तय गरेको हो ।
पुलिसले डायमन्डलाई २५–२०, २५–१४, २५–१७ ले पराजित गरेको हो । यस जितका साथ पुलिसले आफ्ना पाँचै खेल जित्दै १५ अंकका साथ पहिलो स्थान प्राप्त गर्यो । पुलिसले उपाधिका लागि एपिएफको सामना गर्नेछ । एपिएफ ११ अंकका साथ दोश्रो स्थानमा छ ।
आजै सम्पन्न महिलाको दोश्रो खेलमा आर्मीले गण्डकी प्रदेश माथि २५–१८, २५–१२, २५–१५ को जित हात पार्यो । आर्मीको ८ अंक भएको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको लिग प्रतियोगिताको पुरुष तर्फको खेलमा जित्नै पर्ने दवावका साथ कोर्टमा उत्रेको पुलिसले एपिएफमाथि ३–० को सोझो सेटमा विजय पायो । पुलिसले २५–२२, २५–१३, २५–१५ ले एपिएफलाई हराएको हो । यसका साथ एक खेल हारेको पुलिसको १५ अंक भएको छ । पुलिसले फाइनलमा टिपटप हेल्प नेपाल र आर्मी मध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
पुरुषतर्फकै गण्डकी प्रदेश भलिबल क्लब र दावाँली मिलन क्लबबीच भएको खेलमा गण्डकीले जित हात पार्यो । गण्डकीले दावाँलीलाई २५–२१, २५–१५, २५–१६ ले जित हात पार्दै ३ अंक बटुल्यो । यस जितका साथ गण्डकीको ६ अंक भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया