खेलकुद

दर्शक कुट्ने आर्मीका खेलाडीमाथि प्रतिवन्ध

इकागज |
असार ३१, २०८० आइतबार १४:९ बजे

फाइल फोटो

काठमाडौँ- भलिबल खेलका क्रममा दर्शक कुटेको विषयमा त्रिभुवन आर्मी क्लबका चार खेलाडी कारवाहीमा परेका छन् । नेपाल भलिबल संघले राष्ट्रिय टिम तथा आर्मीका कप्तान हरिहजुर थापा, धनबहादुर भट्ट, राजेन्द्र विष्ट र हरि अधिकारीलाई कारवाही गरेको हो ।

काठमाडौँमा शनिबार सम्पन्न सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गत सोमबार आर्मी र गण्डकी प्रदेशबीचको खेलका क्रममा आर्मीका धनबहादुरलगायतका खेलाडीले दर्शकमाथि हातपात तथा मुक्का प्रहार गरेका थिए ।


घटनापछि भलिबल संघले छानविन समिति गठन गरेको थियो । छानविन समितिको सिफारिसमा भलिबल संघले चारै जनालाई कारवाही गरेको हो । भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारवाहीको निर्णय गरेको छानविन समितिका संयोजक रोशन श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठले हरिहजुरलाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरिएको इकागजलाई जानकारी गराए । उनले धनबहादुरलाई ६ महिना तथा राजेन्द्र विष्ट र हरि अधिकारीलाई ३ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाइएको बताए । दुर्गा खड्कालाई भने सचेत गराइएको छ ।

भलिबल संघका महासचिव समेत रहेका श्रेष्ठका अनुसार आर्मीका खेलाडीहरुले अनुशासनहीन काम गरेका कारण उनीहरुलाई कारवाही गरिएको हो ।

‘खेल लाइभ भइरहेकै अवस्थामा दर्शकमाथि कुटपिट हुनु भनेको दर्शकमाथि ठूलो आघात पुगेको हिसाबले हामीले यो कारवाही गरेका हौ,’ संयोजक श्रेष्ठले बताए ।

छानविन समितिमा संयोजक रोशन श्रेष्ठसँगै सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन पनि रहेका थिए ।

 


Author

थप समाचार
x