खेलकुद

यस वर्ष पनि एसिया कप नहुने, अर्को वर्ष पाकिस्तानले आयोजना गर्ने

इकागज |
जेठ ६, २०७८ बिहीबार १५:१७ बजे

काठमाडौँ: यसै वर्ष आयोजना हुने भनिएको एसिया कप सर्ने सम्भावना बढेको छ । सन् २०२१ कै मध्यतिर श्रीलंकाले एसिया कप आयोजना गर्ने बताइएको थियो । तर एसियाका चार ठूला क्रिकेट टिमको व्यस्त तालिकाका कारण एसिया कप अर्को मितीका लागि सर्ने सम्भावना बढेको इएसपीन क्रिक इन्फोले दाबी गरेको छ । 

केही साता अघि स्थगित भएका इन्डियन प्रिमियर लिग (आइपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेल २०२१ को अन्त्य तिर हुने भएकाले पनि एसिया कप आयोजनमा असर पुग्ने देखिएको हो । त्यस्तै श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) र बंगलादेशको बंगलादेश प्रिमियर लिग (बीपीएल) पनि यसै अंग्रेजी वर्षको अन्त्यमा हुने तालिका छ । त्यसकारण पनि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश एसिया कपका लागि तयार हुन नसक्ने देखिएको हो । 


प्रत्येक दुई–दुई वर्षमा हुने भनिएको एसिया कप पछिल्लो पटक सन् २०१८ मा भएको थियो । सन् २०२० मा भने कोभिड–१९ का कारण प्रतियोगिता आयोजना भएन । अब पाकिस्तानले सन् २०२२ मा एसिया कप आयोजना गर्ने इएसपीएन क्रिक इन्फोले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ । त्यसको एक वर्षपछि श्रीलंकाले अर्को संस्करण आयोजना गर्ने बताइएको छ । 

एसिया कप सन् २०१४ सम्म लगातार एक दिवशिय ढाँचामा खेलाइएको थियो । त्यसपछिका संस्करण भने पालैपालो एक दिवसीय र टी–ट्वान्टी ढाँचामा खेलाउने निर्णय गरियो । त्यसै अनुरुप सन् २०१६ को संस्करण टी–ट्वान्टी ढाँचामा आयोजना गरियो । श्रीलंकाले आयोजना गर्ने भनिएको २०२१ एसिया कप टी–ट्वान्टी हुने बताइएको थियो ।      
         
 


Author

थप समाचार
x