खेलकुद

पौडी खेलाडी नासिरले कायम गरे अर्को नयाँ कीर्तिमान

इकागज |
साउन ८, २०८० सोमबार १६:१० बजे

काठमाडौँ- नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसीपअन्तर्गत अर्को नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएअनुसार २०० मिटर फ्रिस्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।


यसअघि नासिरकै नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान ११ औं एनएसए कप च्याम्पियनसीपमा राखेका थिए ।

नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका थिए ।

महिलातर्फ दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंहले पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनट ६.८० सेकेन्ड समयमा दुरी पूरा गरिन् । गौरिकाको यसअघि १ मिनट ७.३१ सेकेन्ड समयको रेकर्ड रहेको थियो । उनले उक्त रेकर्ड गोहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेकी थिईन् ।

मंगलबार डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन् ।


Author

थप समाचार
x