खेलकुद

गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

इकागज |
साउन १०, २०८० बुधबार १४:२४ बजे

काठमाडौँ- दक्षिण एसियाली खेलकुद (साग)की ४ स्वर्णधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसीपअन्तर्गत नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

गौरिकाले आफ्नै नाममा रहेको पुरानो समयमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।


बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी हुन् ।

यस अघि गौरिकाले यसै च्याम्पियनसीपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिईन् ।

ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसीपको आज भएको पुरुष तर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन्  ।

एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनसीपमा ५२.९६ सेकेन्ड समयको किर्तिमान राखेका थिए ।

मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ सेकेन्ड समयमा दुरी पूरा गरेकी थिईन् । यसअघि डुवानको व्यक्तिगत समय २ मिनट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनट ११.९४ सेकेन्डको समय रहेको छ ।

अब नेपाली खेलाडीहरुको दुई खेल बाँकी छ । बिहिबार डुवाना लामाले १०० मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।


Author

थप समाचार
x