खेलकुद

दोलखाका आशिष फुयाललाई र्‍यापिड चेसको उपाधि

इकागज |
साउन २०, २०८० शनिबार १६:३२ बजे

काठमाडौँ- नुवाकोट जिल्लामा बुद्धिचाल संघको आयोजनामा भएको दुई दिने र्‍यापिड चेस प्रतियोगिताको उपाधि आशिष फुयालले हात पारेका छन् ।

उनले फाइनल चरणको खेलमा काठमाडौँका १४ वर्षीय पुरुषोत्तम सिलवालसँग बराबरी खेलेर अंक बाँडेका थिए भने छैटौं चरणको खेलमा भक्तपुरका जगन्नाथ ताम्राकारलाई हराएका थिए ।


छ खेलमा जित निकाल्न सफल भएका आशिषले ६.५ अंकसहित विजेता बन्न सफल भए । उनले नगद १० हजार पुरस्कार पाए ।

६ अंक जोडेर पुरुषोत्तम सिलवाल दोस्रो स्थानमा रहे । उनले छैटौं चरणको खेलमा ललितपुरका सुरज महर्जनविरुद्ध सफलता पाए । उनले ७ हजार नगद पुरस्कार पाए ।

विदुर नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा आयोजना भएको प्रतियोगिताको तेस्रो स्थानमा पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार रहे । उनले नगद ५ हजार पाउन सफल भए ।

सुनसरीका मणीराज डाँगी चौथो र झापाका मिसन दाहाल पाँचौं स्थानमा रहे भने छैटौंदेखि दशौंसम्म भक्तपुरका जगन्नाथ ताम्राकार, गणेशमान दुवाल, ललितपुरका सरोज महर्जन, काठमाडौँका राजेन्द्र बज्राचार्य र नुवाकोटका सुरज लामा रहेका छन् ।

महिलातर्फको उपाधि काठमाडौँकी आरती छठकुलीले जित्न सफल भइन् । उनले ४ अंक जोडेकी थिइन् ।

समान ४ अंक नै रहे पनि पुनम प्रसाईं टाइब्रेकरको आधारमा आरतीसँग पछि पर्दै उपविजेता बनिन् ।

त्यसैगरी भेट्रानतर्फ राधेश्याम श्रेष्ठ उत्कृष्ट ठहरिए भने स्थानीयमा सक्सेस श्रेष्ठ प्रथम भए । अनरेटेडमा नविन वैद्य पहिलो रहे भने यु-१९ मा संगम कटुवाल उत्कृष्ट भए ।

नुवाकोट जिल्ला बुद्धिचाल संघका अध्यक्ष प्रकाश जोशीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन समारोहमा विदुर नपा १ का वडा अध्यक्ष लेनिन श्रेष्ठ र नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे । नुवाकोट जिल्लाका र आमन्त्रित  गरि प्रतियोगितामा ५८ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x