खेलकुद

डिएगो सिमओनेले कोरेको पटकथाको नायक लुइस स्वारेज

इकागज |
जेठ १०, २०७८ सोमवार ६:३३ बजे

काठमाडौँ : लुइस स्वारेज पक्कै २१ वर्षका छैनन् । तर संयोगबस उनले आइतबार २१ औँ लिग गोल गरे जसले एथ्लेटिको म्याड्रिडलाई सात वर्षपछि स्पेनी च्याम्पियन बनायो । एथ्लेटिको रियल भालाडोलिडसँग १-१ को अवस्थामा रहेका बेला स्वारेजले ६७ औँ मिनेटमा निर्णायक गोल गरे ।

गत सिजनसम्म स्वारेज बार्सिलोनामा थिए । क्याट्लन क्लबले आफ्नो टिममा परिवर्तन गर्ने निधो गर्‍यो । परिवर्तनको मारमा परे स्वारेज । उरुग्वेका स्ट्राइकर ३३ वर्षका भइसकेका थिए र उनको लयमाथि पनि प्रश्न उठिरहेको थियो । स्वारेजले चित्त दुखाउँदै स्थान्तरणका लागि रोजे, एथ्लेटिको ।


स्पेनी राजधानी पुग्दा स्वारेज दबाबमा थिए । सँगसँगै थियो बार्सिलोनालाई देखाउँछु भन्‍ने इख । स्वारेजको सर्वविदित विशेषता छ, दबाबमा रहँदा झन् बलियो खेल देखाउने । एथ्लेटिकोमा उनले त्यही गरे । ३४ वर्षको उमेरमा पनि थाकेनन् । संकटको समयमा गोल गरिरहे । र, अन्ततः एथ्लेटिकोलाई लिग जिताए । जुन एथ्लेटिकोले सन् २०१४ यता जितेको पहिलो लिग उपाधि हो । 

एथ्लेटिकोको सिजनको सुरुवात लोभलाग्दो थियोे । सुरुवाती १२ खेलमा टिम अपराजित रह्यो । त्यस दौरान एथ्लेटिकोले नौ खेलमा जित दर्ता गर्‍यो । सहरी प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग पराजित भएपनि त्यसपछिका आठ खेल लगातार जितेको थियो । मार्च देखि अप्रिल अन्तिम सातासम्म भने एथ्लेटिकोको प्रर्दशन केही हदसम्म खस्कियो । खेलेका सात खेलमध्ये दुईमा मात्रै जित दर्ता गर्‍यो ।

एथ्ललेटिकोले अंक गुमाइरहँदा रियल र बार्सिलोनाले शीर्षस्थानसँग दूरी घटाउने मौका पाए । स्वभाविक रुपमा एथ्लेटिकोको ‘डे«सिङ रुम’ मा तनाव सुरु भयो । उसै पनि एथ्लेटिकोको परिचय उपाधिको नजिक पुगेर असफल हुने टिमका रुपमा स्थापित छँदै थियो । तर निर्णायक समयमा बार्सिलोनाले लय गुमाउँदा र सेभिया थाक्दा म्याड्रिडका दुई क्लब मात्रै उपाधि होडमा रहे । 

गत आइतबार ओसासुनाविरुद्धको जित एथ्लेटिकोका लागि महत्वपूर्ण सावित भयो । जित्नै पर्ने खेलमा स्वारेज निर्णायक गोल गरे । उनले ८८ औँ मिनेटमा गरेको गोलका कारण नै एथ्लेटिकोले रियलसँगको अंक दूरीलाई कायम राख्यो । यति हुँदा पनि उपाधि दौडमा एथ्लेटिको ढुक्क हुने अवस्थामा थिएन । सिजनको अन्तिमसम्म्म पनि एथ्लेटिको अन्तिम परीक्षाबाट गुज्रन बाँकी नै थियो । रियल एथ्लेटिको भन्दा एक अंकले मात्र पछि थियो ।  

एथ्लेटिको भाल्लाडोलिडसँग भिडिरहँदा, उता रियल भने भिल्लारियलविरुद्ध मैदान उत्रेको थियो । १८ औँ मिनेटमा भाल्लाडोलिडका लागि ओस्कार प्लानोले गोल गरे । प्लानोले गरेको गोल उनको पूर्व क्लब रियलका लागि खुशीको खबर थियो । तर एथ्लटिकोले गोल खाएको दुई मिनेटपछि नै रियल पनि भिल्लारियलसँग पछि पर्‍यो । भिल्लारियलका लागि गोल गरेका येरेमी पिनाले कीर्तिमान राखे । रियलविरुद्धको खेलमा उसकै मैदानमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने, पिना । 

दोस्रो हाफमा म्याड्रिडका दुवै क्लबले गोल गरे । एन्गल कोरेआले ५७ औँ मिनेटमा एथ्लेटिकोलाई खेलमा फर्काए । लिगमा उनको त्यो नवौँ गोल थियो । त्यसको १० मिनेटपछि स्वारेजले गोल गर्दै एथ्लेटिकोलाई जिततर्फ डोर्‍याए । उता रियल ८७ औँ मिनेटमा करिम बेन्जेमाको गोलमार्फत खेलमा फर्कियो । अर्का भेट्रान लुका मोड्रिचले इन्जुरी समयमा गोल गरे । दुवै टिमले आ-आफ्नो खेल जितेपछि दुई अंकको दूरी कायम भयो । 

स्वारेजको गोल पछि एथ्लेटिकोको रंगशाला बाहिर जम्मा भएका समर्थकले खुशीयाली मनाए । सायद यो खुशीमा बार्सिलोनाका समर्थक पनि रमाएको हुनुपर्छ । किनभने उनै स्वारेजले बार्सिलोनाको चीर प्रतिद्वन्द्वी रियललाई च्याम्पियन बन्‍न दिएनन् । हुन त स्वारेजले बार्सिलोनालाई नै च्याम्पियन बनाउन सक्थे । खेल सकिएपछि प्रशिक्षक डिएगो सिमओनेले खेलाडीहरूसँग अंकमाल गरे ।

त्यसै बखत टिमका मुख्य स्टार स्वारेज भने एक्लै रोइरहेका थिए । खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा स्वारेजले बार्सिलोनाले आफूलाई निकम्मा ठानेर निकालेको र एथ्लेटिकोले स्वागत गरेको बताए । मैदानमा खुशीयाली मनाइरहँदा उता वान्डा मेट्रिपोलिटानो बाहिर जम्मा भएका एथ्लेटिक समर्थकले ‘आतिसबाजी’ गरे । समर्थक रंगशालामा नभएपनि एथ्लेटिकोको खुशीयाली फिक्का भएन । किनभने सात वर्षपछि सिमओनेको टिम च्याम्पियन बन्दै थियो ।

एथ्लेटिको ११ औँ पटक स्पेनी च्याम्पियन बनेको हो । त्यो पनि सिजन अन्त्य हुने दिनमा । एथ्लेटिकोले च्याम्पियन बन्‍न अन्तिम दिनसम्म कुर्नु परेको यो पहिलो पटक होइन । यसअघि जितेका दश लिग उपाधि मध्ये नौ सिजनको अन्तिम दिन नै जितेको हो । सन् २०१३ मा पनि एथ्लेटिको अन्तिम खेलबाटै लिग विजेता बनेको थियो । त्यति मात्र होइन, सिमओनेले सन् १९९५÷९६ मा खेलाडीका रुपमा लिग जित्दाको इतिहास पनि यही थियो । 

यसपटक एथ्लेटिकोको टिममा खेलाडी प्रतिभाशाली त छँदै थिए, सिमओनेको रणनीति पनि कम थिएन ।  प्रशिक्षक र खेलाडी सबैले दबाब थेग्न सके । पाका स्वारेज मात्र होइन, युवा जोआओ फिलिक्सले पनि आफ्नो जिम्मेवारी पूरा गरे । समग्रमा एथ्लेटिको रक्षापंक्ति र अग्रपंक्ति दुबैमा बलियो देखियो । लिगमा सबैभन्दा कम गोल खाने टिम एथ्लेटिको बन्यो । त्यस्तै सिमओनेको टिमले ६७ गोल गर्‍यो । ला लिगामा एथ्लेटिको भन्दा धेरै गोल बार्सिलोनाले मात्रै गर्न सक्यो ।

ला लिगामा एथ्लेटिको सबैभन्दा परिपक्व टिमका रुपमा देखा पर्‍यो । चार खेलमा पराजय भोगे पनि एथ्लेटिकोले आफ्नो लय गुमाएन । अन्तिमसम्मै धैर्यता देखायो । सिजन दौरान एथ्लेटिकोको खेल वास्तवमै च्याम्पियन बन्‍न लायकको थियो । (गोल डटकम र दी एथ्लेटिकको सहयोगमा)


 


Author

थप समाचार
x