खेलकुद

जुनियर ब्याडमिन्टनः श्रीलंका बन्यो टिम च्याम्पियन

इकागज |
भदौ ३, २०८० आइतबार १५:४२ बजे

काठमाडौँ- ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप २०२३ अन्तर्गतको यू–१५ र यू–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ ।

सशस्त्र प्रहरी बल नेपालको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसीपको यु–१५ तर्फको प्रतिस्पर्धामा नेपाललाई ३–० ले पराजित गर्दै श्रीलंकाले उचालेको हो ।


श्रीलंकका सेनुथ सेथमिथा पेरेराले नेपालका सुविन श्रेष्ठलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गरे ।

नेथ्मी रत्नायकेले रिहाना शेरचनलाई २१–८, २१–१३ ले पराजित गरे । त्यसैगरी, केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेराको जोडीले सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–१७ ले पराजित गर्दै उपाधीमा श्रीलंकको नाम लेखाउन सफल भए । तेश्रो स्थानमा बंगलादेश र भुटान रहे ।

यस्तै यु–१७ तर्फ पनि श्रीलंकाले बंगलादेशलाई ३–२ सेटले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो सेट बंगालादेशका एस.एस.एम. सिफात उल्लाहले श्रीलंकाका थिदासा वेरागोडालाई २१–९, १३–२१, २१–१८ ले पराजित गर्दै खेललाई १–० को अवस्थामा पुर्‍याए ।

दोश्रो खेलमा श्रीलंकाका रनिथ्मा लियानागेले बंगलादेशका सिन्थिया खानोम प्रियोन्तीलाई २१–२, २१–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

तेश्रो खेलमा पुनः राजोन मिया र एस.एस.एम. सिफात उल्लाहको जोडीले श्रीलंकका हिरुका अलुथ पतबेन्दिगे र थिदासा वेरागोडाको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए ।

चौँथो खेलमा श्रीलंकाका रनुमी मनागे र रनिथ्मा लियानागेको जोडीले बंगलादेशका मथेना मधुरजो विश्वास र सिन्थीया कानोम प्रियान्तीको जोडीबाट वाक ओभर प्राप्त गरे पश्चात खेल २–२ को बरावरीमा पुग्यो ।

अन्तिम तथा निर्णाकक खेलमा श्रीलंकाका थिदासा वेरागोडा र रनिथ्मा लियानागेको जोडीले बंगालादेशका एस.एस.एम. सिफात उल्लाह र सिन्थी खानोम प्रियोन्तीको जोडीलाई २१–११, २३–२५, २१–१० ले पराजित गर्दै खेललाई ३–२ ले आफ्नो पक्षमा पार्दै श्रीलंकालाई उपाधी विजेता बनाए । तेश्रो स्थानमा भुटान र नेपाल रहे ।


Author

थप समाचार
x