खेलकुद

बंगलादेशद्वारा श्रीलंका पराजित

इकागज |
जेठ १०, २०७८ सोमबार १२:२८ बजे

काठमाडौँ : अफ-स्पिनर मेहिदी हसनले चार विकेट लिएपछि बंगलादेशले आइतबार पाहुना टोली श्रीलंकामाथि ३३ रनको जित दर्ता गरेको छ । श्रीलंकामाथि विजय प्राप्त गरेसँगै बंगलादेशले आफ्नो जितविहिन यात्रालाई टुंगाएको छ । बंगलादेशले आफ्ना पछिल्ला १० खेलमा जित दर्ता गर्न सकेको थिएन ।  

ढाकामा सुरु एकदिवशिय श्रृंखलाको पहिलो खेलमा घरेलु टिमलाई विजयी बनाउन हसन बाहेक मुस्फिकर रहिमलगायतका ब्याट्सम्यानको भूमिका पनि महत्वपूर्ण रह्यो । शेर-ए-बांगला राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा छ विकेटको क्षतिमा २५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले ४८.१ ओभरमा २२४ रन मात्रै बनायो । 


बंगलादेशका अनुभवी ब्याट्सम्यान मुस्फिकरले ८४ रन बनाए भने महमुदुल्लाह र कप्तान तमिम इकबालले क्रमशः ५४ र ५२ रन जोडे । ‘ब्याटिङ गर्न यो पिच खासै उपयुक्त थिएन । अत्याधिक गर्मी थियो । त्यसमा पनि लिटन दास र शकिब अल हसनलाई सुरुवातमै गुमाएपछि हामी दबाबमा परियो । तर तमिम र महमुदुल्लाहले इनिङ्स सम्हाले । पहिलो खेलमा जित हासिल गर्दा हामीमा आत्मविश्वास बढेको छ,’ खेलपछि मुस्फिकरले भने । 


Author

थप समाचार
x