खेलकुद

मोहम्मद आमिरका विषयमा विभाजित पूर्व पाकिस्तानी क्रिकेटर

इकागज |
जेठ १०, २०७८ सोमबार १३:५५ बजे

काठमाडौँ : पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान वासिम अक्रमले मोहम्मद आमिरलाई टिममा फर्काउनु पर्ने राय व्यक्त गरेका छन् । भारतमा यसै वर्ष हुने भनिएको टी-ट्वान्टी विश्वकपका लागि छनौट हुने पाकिस्तानी टिममा आमिरलाई समावेश गरिनुपर्ने आक्रमको भनाई थियो । 

‘आमिर अनुभवी बलर हुन् । त्यति मात्रै होइन, टी-ट्वान्टी ढाँचामा उनी विश्वकै उत्कृट बलरमध्येका एक हुन् । त्यसकारण उनी आउँदो विश्वकपका लागि पाकिस्तानको टिममा हुनुपर्छ । विश्वकपमा आमिर जस्ता अनुभवी बलरको आवश्यकता पर्छ । उनीबाट अन्य अनुभवी बलरले पनि सिक्न सक्छन्,’ आक्रमले स्थानिय सञ्चार माध्यसँग कुरा गर्दै भनेका छन् । 


आमिरले गत डिसेम्बरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । मुख्य प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वाकर युनिससँग मतभेद भएपछि आमिरले राष्ट्रिय टिम छाडेका थिए । ती दुई प्रशिक्षक रहुन्जेल आफू पाकिस्तानको टिममा नफर्कने आमिरको भनाई रहँदै आएको छ । पाकिस्तानकै अर्का पूर्व त्रिकेटर साइद अजमलले भने आमिरसँग राष्ट्रिय टिमका प्रशिक्षकहरूको राजिनामा माग्‍ने अधिकार नभएको बताएका छन् ।

पाकिस्तानी अखबार दी एक्सप्रेस ट्रिब्युनसँग कुरा गर्दै अजमलले भनेका छन्, ‘आमिरको कुरा सुन्दा उनीमाथि अन्याय भएको महसुस हुन्छ । यद्यपि उनी र पाकिस्तान क्रिकेट व्यवस्थापनबीच के भयो हामीलाई थाहा छैन । तर एउटा खेलाडीले प्रशिक्षकलाई हटाउने माग राख्नु सही होइन । त्यो उसको अधिकार भित्रको विषय पनि होइन । खेलाडीको काम भनेको खेल्ने र आफ्नो प्रदर्शनमा सुधार गर्ने हो,’ अजमल भने । 

बरु आमिर राष्ट्रिय टिममा फर्कन नहुने अजमलको भनाई थियो । एकपटक सन्यास लिए पछि आफ्नो निर्णयमा अडिग हुनुपर्ने अजमलको भनाई थियो । ‘उनले सन्यास लिइसकेका छन् । अहिले आएर राष्ट्रिय टिममा फर्कने इच्छा जागेको होला । तर उनी आफ्नो निर्णयमा अडिग रहनुपर्छ,’ अजमलको भनाई थियो ।आमिरले पाकिस्तानको टेस्ट टिमका लागि ३६ खेल खेल्दै १ सय १९ विकेट लिएका छन् । त्यस्तै एक दिवशियतर्फ आमिरले ६१ खेल खेलेका छन् । त्यस ढाँचाको क्रिकेटमा उनले ८१ विकेट हात पारेका छन् ।   


Author

थप समाचार
x