खेलकुद

नेपोलीले जेनारो गाटुसोलाई प्रशिक्षकबाट हटायो, माउरिजियो सारी फर्कन सक्ने

इकागज |
जेठ १०, २०७८ सोमवार १६:४२ बजे

काठमाडौँ: नेपोलीलाई इटालियन सिरी ए को शीर्ष चारमा छनौट गराउन नसकेपछि जेनारो गाटुसो बर्खास्तीमा परेका छन् । लिगको शीर्षचारमा पर्न नेपोलीलाई आइतबार जितको आवश्यकता थियो । तर आफ्नै मैदानमा हेल्लास भेरोनासँग १-१ को बराबरीमा रोकिएपछि नेपोलीको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपनामा पूर्ण बिराम लाग्यो । 

भेरोनासँग बराबरी खेलेपछि नेपोलीको ३८ खेलबाट ७७ अंक भयो । लिगमा अन्तिम दिनको खेलमा बोलोग्नालाई ४-१ ले हराएको युभेन्टस चौथो स्थानमा रह्यो । आन्द्रेइ पिर्लोको टिमले कुल ७८ अंक बटुल्यो । मिलानका दुई क्लब लिग विजेता र उप-विजेता बन्दा एटलान्टाले तेस्रो स्थानमाथि कब्जा जमायो । 


नेपोलीका अध्यक्ष अउरेलियो डे लौरेन्टिसले सामाजिक सञ्जाल ट्‍वीटरमार्फत गाटुसोले पदमुक्त भएको पुष्टी गरे । ‘प्रिय गाटुसो, क्लबमा तिमी दुई वर्ष रह्यौं । तिमीले यस क्लबका लागि जे जति योगदान गर्‍यौ, त्यसका लागि धन्यवाद । तिम्रो अबको यात्राका लागि शुभकामना,’ लौरेन्टिसले लेखेका छन् । 

गाटुसो सन् २०२० डिसेम्बरमा नेपोलीको प्रशिक्षकमा नियुक्त भएका थिए । कार्लो एनसिलोट्टी बर्खास्तीमा परेपछि गाटुसोलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।पहिलो सिजन उनले नेपोलीलाई कोपा इटालिया जिताएका थिए । लिगमा भने नेपोली साँतौ स्थानमा सिमित भयो । यस पटक पनि नेपोलीलाई च्याम्पियन्स लिगमा छनौट गराउन नसकेपछि गाटुसो क्लबबाट बाहिरिएका हुन् । 

गाटुसो पदमुक्त भएसँगै नेपोलीको नयाँ प्रशिक्षक को बन्छ भन्‍ने विषयमा अनुमान सुरु भएको छ । इटालियन सञ्चार माध्यमका अनुसार माउरिजियो सारी नेपोली फर्कने सम्भावना बलियो छ । युभेन्टस तथा चेल्सीका प्रशिक्षक रहिसकेका सारी सन् २०१५ देखि २०१८ सम्म नेपोलीमै थिए । सारी बाहेक लाजियोका प्रशिक्षक सिमोने इन्जाघी र एस रोमाका पाउलो फोन्सेका पनि नेपोलीसँग जोडिएका छन् । 


 


Author

थप समाचार
x