खेलकुद

एमबाप्पे पीएसजीमै बस्‍न तयार

इकागज |
जेठ १०, २०७८ सोमबार १८:३७ बजे

काठमाडौँ: पछिल्ला आठ सिजनमा सात पटक फ्रेन्च लिग च्याम्पियन बनेको पेरिस सेन्ट जर्मेन (पीएसजी) यसपटक भने रोकियो । लिल दश वर्षपछि लिग विजेता बन्दा पीएसजी दोस्रो स्थानमा रह्यो । दुई टिमबीचको अंक दूरी मात्रै एक अंकको थियो । घरेलु लिग जित्‍न नसकेको पीएसजी च्याम्पियन्स लिगमा पनि असफल भयो, यो सिजन । गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको पीएसजी यसपटक सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग निराश बन्यो । मैदानमा भोगेको असफलताले पिरोलिएको पीएसजी किलियान एमबाप्पेले सम्झौँता नविकरण नगर्लान भनेर चिन्तित छ । 

मुख्य स्टार नेयमारले नयाँ सम्झौँता गरिसकेकाले पीएसजी हाल एमबाप्पेलाई फकाउन व्यस्त छ । फ्रेन्च युवा फरवार्डको पीएसजीसँगको सम्झौँता सकिन एक वर्ष मात्रै बाँकी छ । एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौँता नगर्ने हो भने, उनी अर्को वर्षको जुनपछि फ्रि-एजेन्ट बन्नेछन् । त्यसपछि उनी जुनसुकै क्लब पनि जान सक्नेछन् । उनलाई अनुबन्ध गर्न चाहने क्लबले स्थान्तरण रकम तिर्नुपर्ने छैन । 


एमबाप्पे रियल म्याड्रिड र लिभरपुल जस्ता क्लबसँग जोडिँदै आएका छन् । आउँदो जुन नौबाट युरोपियन सरुवा बजार खुल्दैछ । अगस्ट ३१ सम्म खुल्ला रहने सरुवा बजारमा एमबाप्पेले नयाँ क्लब रोज्ने सम्भावना जिवित छ । यद्यपि एमबाप्पले हालै पीएसजीसँग सम्झौँता नविकरण गर्न आफू तयार रहेको संकेत गरेका छन् । 

‘म पीएसजीसँग गहिरोरुपमा जोडिएको छु । पीएसजीकै कारणले म आजको अवस्थामा आइपुगेको हो । म धेरै भन्दा धेरै उपाधि जित्न चाहन्छु । तर त्यसका लागि मैले खेल्ने क्लब बलियो हुनुपर्छ । च्याम्पियन्स लिग फाइनल जित्ने क्लब एउटै हुन्छ, तर अन्य क्लबले पनि त्यहाँ सम्म पुग्ने लक्ष्य र सपना बोकेको हुन्छ,’ पीएसजीका लागि यस पटक ४२ गोल गरेका एमबाप्पेले भने, ‘पीएसजीको महत्वकांक्षा के हो भन्ने विषयमा म चाँडै नै क्लब प्रशासनसँग भेटेर कुरा गर्छु । त्यसपछि मात्रै म आफ्नो भविष्यबारेमा निर्णय लिन्छु ।,’ 

पीएसजीका प्रशिक्षक माउरिसियो पाचेटिनोले आफूहरू एमबाप्पेलाई लामो समयका लागि क्लबमा राख्न चाहेको बताएका छन् । त्यसका लागि एमबाप्पेसँग आवश्यक छलफल भइरहेको पनि पोचेटिनोको भनाई थियो ।  पीएसजीले नेयमारसँग सन् २०२५ सम्मका लागि सम्झौँता नविकरण गरिसकेको छ । एमबाप्पेले पनि पीएसजीसँग नयाँ सम्झौँता गर्ने सम्भावना बलियो छ । किनभने आउँदो सरुवा बजारमा एमबाप्पेलाई खरिद गर्न आवश्यक पर्ने रकम जुटाउन सक्ने क्लब धेरै हुनेछैनन् । 


Author

थप समाचार
x