खेलकुद

लिग वान : पीएसजीलाई गाल्टिएरले कसरी रोके ?

इकागज |
जेठ ११, २०७८ मंगलबार ६:३८ बजे

काठमाडौँ : फ्रेन्च लिग वानको आफ्नो अन्तिम खेलमा लिलले आन्जेरको सामना गर्‍यो । बुराक इल्माज र जोनाथन डेभिडले एक-एक गोल गरे । आन्जेरमाथि २-१ को जित दर्ता गरेपछि लिल ३८ खेलबाट ८३ अंक भयो । दोस्रो स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि आफ्नो अन्तिम खेल जित्यो । यद्यपि उपाधि होडमा पीएसजी एक अंकले पछि पर्‍यो । 

उसो त लिल अन्तिम दिनको खेलअघि पनि शीर्षस्थानमै थियो । फ्रेन्च लिगको इतिहासमा ३७ खेलपछि शीर्षस्थानमा रहेर पनि च्याम्पियन नबन्‍ने टिम रिम्स मात्रै हो । लिलले रिम्सको बाटो पछ्याएन । प्रभावशाली कप्तान जोेसे फोन्टेबिना आन्जेरलाई हरायो । र, चौथो पटक फ्रेन्च लिग जित्यो । 


आन्जेरविरुद्ध उतारिएको लिलको टिममा युसुफ र रेनाटो सान्चेस जस्ता शारीरिक रुपमा बलिया मिडफिल्डर थिए । जोनाथन बाम्बा र जोनाथन इकोनेलाई बेन्चमा राखिएको थियो । जुन अपेक्षित निर्णय थिएन । पछिल्लो समय राम्रो लयमा नरहेका सान्चेसलाई सुरुवाती एघारमा राख्ने निर्णय पनि अनपेक्षित नै थियो । यद्यपि त्यो निर्णय सही सावित भयो । खेलमा लिलले पहिलो गोल गर्दा पास मिलाउने खेलाडी उनै सान्चेस थिए ।   

२३ वर्षीय सान्चेस एक महिनापछि लिलको पहिलो एघारमा परेका थिए । तर उनले प्रशिक्षक क्रिस्टोफ गाल्टिएरलाई निराश बनाएनन् । आन्जेरविरुद्ध पार्चुगिज खेलाडीले गज्जबको खेल देखाए । समग्रमा सान्चेसले यस सिजन सन्तोषजनक खेले । लिलमा आफूलाई सिद्ध गरे । उसो त सान्चेसले बेनफिकामा छँदा नै नाम कमाएका थिए । युरो २०१६ दौरान उनको चौतर्फी प्रशंसा भयो । पोर्चुगललाई युरो जिताउन महत्वपूर्ण भूमिका खेलेका सान्चेसलाई बायर्न म्युनिखले अनुबन्ध गर्‍यो । तर उनको जर्मनी बसाइ सुखद भएन । लोनमा स्वान्सी सिटी पुगे । स्वान्सीबाट एक सिजन इंग्लिस प्रिमियर लिग खेलर सान्चेस बायर्न नै फर्के । 

तर बायर्नमा सान्चेस फेरि पनि सफल भएनन् । ओरोलो लागिरहेको उनको करियरलाई उद्वार गर्‍यो, लिलले । अनि उनलाई पुनः स्थापित हुन मद्दत गरे, गाल्टिएरले । त्यसो त गाल्टिएरको प्रशिक्षणमा सुधे्रका सान्चेस एक्ला खेलाडी होइनन् । आन्जेरविरुद्ध गोल गरेका डेभिडले पनि गाल्टिएरको मार्गदर्शनमा असाध्यै राम्रो खेले । क्यानाडाका २१ वर्षीय फरवार्ड डेभिडले लिलका लागि १३ लिग गोल गरे । लिललाई च्याम्पियन बनाउन इल्माजले पनि उल्लेख्य भूमिका निर्वाह गरेका छन् । टर्कीस स्ट्राइकर लिलको उच्च गोलकर्ता बने । तर उनको प्रदर्शनले युवा डेभिड ओझेलमा परेनन् । 

डेभिड यसै सिजन लिल पुगेका हुन् । उनको स्थान्तरणका लागि लिलले बेल्जियाको गेन्कलाई तीन करोड युरो तिर्‍यो । स्थान्तरण रकमका हिसाबले डेभिड यस सिजन लिग वानको सबैभन्दा महंगो खेलाडी बने । यद्यपि नयाँ लिगमा डेभिडले कमजोर सुरुवात गरे । आधा सिजन सकिँदा डेभिडले जम्मा दुई गोल गरेका थिए । उनीबाट पर्याप्त गोल नभए पनि लिल शीर्षस्थानमै थियो । तर डेभिडमाथि गरिएको लगानी खेर गएको हो की भन्‍ने आशंका उत्पन्‍न हुन थालिसकेको थियो । गाल्टियर भने डेभिडको प्रतिभालाई लिएर ढुक्क थिए ।  

नयाँ वर्ष लागेपछि डेभिडको लयमा सुधार आयो । उनले ११ गोल गरे । पीएसजी र मार्से जस्ता बलिया टिमविरुद्ध निर्णायक गोल गरे । डेभिडको सुधारिएको प्रदर्शनको जस गाल्टिएरमा जान्छ । जसले डेभिडलाई निरन्तर उपयोग गरिरहे । इल्माजसँग खेलाइरहे । गाल्टिएरको युवा खेलाडी निखार्न सक्ने खुबी फेरि प्रमाणित भयो । यसअघि लिलमा निकोलस पेपे र भिक्टर ओसिहेन जस्ता खेलाडी चम्कनुमा पनि गाल्टिएरकै देन थियो । 

लिललाई च्याम्पियन बनाउन अन्य खेलाडीको पनि उत्तिकै हात छ । मिडफिल्डर बेन्जामिन आन्दे्र र गोलरक्षक माइक मैगनानले लिलको जर्सीमा परिपक्व खेल देखाए । अनभवी आन्दे्रको उपस्थितीले लिलको मिडफिल्ड सन्तुलित बनेको थियो । लिल एकेडेमीका उत्पादन मैगनानले २१ लिग खेलमा गोल खाएनन् । यसपटक लिगमा सबैभन्दा बढी क्लिनसिट राख्ने गोल रक्षक मैगनान नै हुन् । थप एक खेलमा क्लिनसिट राखेको भए मैगनान कीर्तिमानी गोलरक्षक बन्थे । किनभने लिग वानको इतिहासमा २२ खेलमा क्लिनसिट कुनै पनि गोलरक्षकले राख्‍न सकेको छैनन् । 

लिल पीएसजी जस्तो धनी क्लब होइन । प्रत्येक सरुवा बजारमा स्टार बेच्न बाध्य हुने क्लब हो लिल । यस पटक पनि लिलले आफ्ना स्टार खेलाडी बेच्यो । स्ट्राइकर ओसिहेन नेपोली गए भने रक्षक गाब्रियललाई आर्सनलले अनुबन्ध गर्‍यो । तर त्यसले गाल्टिएरलाई फरक पारेन । अन्ततः उनले पीएसजी, मार्से, लियोन जस्ता ठूला क्लबलाई पछाडि पार्दै लिललाई लिग जिताए । 

लिलमा यो गाल्टिएरको चौथो सिजन हो । उनले २०१७÷१८ सिजनमा लिललाई रेलिगेट हुनबाट मुस्किलले बचाएका थिए । अर्को सिजन लिलले कमाल गर्‍यो । एक सिजन अघि १७ औँ स्थानमा सिमित भएको लिल २०१८÷१९ मा लिग उप-विजेता बन्यो । गत सिजन भने लिल केही हदसम्म खस्कियो र चौथो स्थानमा झर्‍यो । १२ महिना पछि लिल फ्रान्सको नयाँ च्याम्पियन बनेको छ । 

लिललाई रेलिगेशन क्षेत्र देखि शीर्षस्थान सम्म पुर्‍याएका गाल्टिएर नयाँ चुनौतिको खोजीमा छन् । नयाँ चुनौति भनेको नयाँ क्लब नै हो । उनलाई अनुबन्ध गर्न निस र लियोन इच्छुक देखिएका छन् । यी दुवै क्लब आर्थिक रुपमा लिलभन्दा सम्पन्‍न छन् । गाल्टिएरले लिललाई गुन लगाएका छन् । त्यसकारण उनले क्लब परिवर्तन गर्ने इच्छा राख्दा लिलको गुनासो रहने छैन । गाल्टिएरको अबको यात्रा कता मोडिन्छ, टुङ्गो छैन । तर जुन क्लब गए पनि उनले युवा प्रतिभा निखार्ने आफ्नो रुचिलाई कायमै राख्‍नेछन् ।

फेरि गाल्टिएर जस्ता प्रशिक्षकको लिग वानमा आवश्यकता पनि छ । पीएसजीको स्टार टिमलाई चुनौति दिन गाल्टिएर जस्तै प्रशिक्षकले मात्र सक्छन् । किनभने उनीहरू युवा प्रतिभामाथि विश्वास राख्छन् । र, युवा खेलाडीले भरिएको टिमलाई लिग च्याम्पियन बनाउने ल्याकत राख्छन् । (अन्तराष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)    


Author

थप समाचार
x