खेलकुद

एसियन शारीरिक सुगठनः भारतका मनीले जिते मिस्टर एसियाको उपाधि

इकागज |
भदौ २०, २०८० बुधबार १५:५० बजे

काठमाडौँ- ५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसीपअन्तर्गतको मिस्टर एसियाको उपाधि भारतका सराभनन मनीले जितेका छन् ।

मनीले १० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधl जितेका हुन् । शारीरिक सुगठनतर्फको विभिन्न दश तौल समूहका विजयीहरुबीच भएको मिस्टर एशियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन् ।


उनी ९० केजी तौल समूमा विजयी हुँदै ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसीपमा तेस्रो भयो ।

पुरुषतर्फ भारत ७९५ अंकका साथ पहिलो र थाईल्याण्डले ५९० अंकका साथ तेस्राे स्थान हात पारे ।

महिलातर्फ थाईल्याण्डले टिम च्याम्पियनसीपको उपाधि जित्यो । दोस्राे स्थानमा भियतनाम र तेस्राे ​ स्थानमा हङकङ रहे ।

बुधबार सम्पन्न पुरुष एथलेट फिजिक्स १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे । यस विधामा पहिलो स्थानमा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे ।

नेपालले यस च्याम्पियनसीपमा ३ स्वर्ण ६ रजत र ५ कास्य पदक प्राप्त गर्न सफल भएको छ । विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रनजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण जिते ।

सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङले ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरेका थिए ।

कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, बिप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक प्राप्त गरेका थिए ।

च्याम्पियनसीपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसीपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो ।

च्याम्पियनसीपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।


Author

थप समाचार
x