खेलकुद

युरो २०२० : इंगल्यान्डको प्रारम्भिक टिममा अलेक्जेन्डर आर्नोल्ड समावेश, डेले अली र एरिक डायर बाहिर

इकागज |
जेठ १२, २०७८ बुधवार १२:३८ बजे

फाइल तस्बिर

काठमाडौँ : आउँदो जुन ११ बाट युरो २०२० सुरु हुँदैछ । महादेशिय प्रतियोगितामा सहभागी हने युरोपियन मुलुकहरूले टिम घोषणा गर्ने क्रम जारी छ । यस्तोमा इंगल्यान्डले पनि प्रारम्भिक टिम घोषणा गरेको छ । इंगल्यान्डले घोषणा गरेको प्रारम्भिक टिममा ३३ खेलाडीलाई समावेश गरिएको छ । 

प्रारम्भिक टिममा हाल ३३ खेलाडी भएपनि जुन १ मा अन्तिम नामावली सार्वजनिक हुँदा २६ खेलाडी मात्रै रहनेछन् । प्रशिक्षक ग्यारेथ साउथगेटले प्रारम्भिक टिममा तीन नयाँ खेलाडीलाई पनि समावेश गरेका छन् । जसमा बेन ह्वाइट, बेन गडफ्रे र आरोन राम्सडेल रहेका छन् । भर्खरै सकिएको इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडबाट खेलेका ह्वाइट र एभरटनका गडफ्रे रक्षक हुन् । त्यस्तै, राम्सडेल सेफिल्ड युनाइटेडका गोलरक्षक हुन् । तीनै खेलाडी इंगल्यान्डको सिनियर टिममा पहिलो पटक बोलाइएका हुन् । 


उता लिभरपुलका कप्तान जोर्डन हेन्‍डरसन र फुलब्याक ट्रेन्‍ट एलेक्जेन्डर आर्नोल्डलाई पनि साउथगेटले प्रारम्भिक टोलीका डाकेका छन् । हेन्‍डरसनले चोटका कारण यस सिजन १२ लिग खेल गुमाएका थिए । क्रिस्टल प्यालेससँगको खेलमा लिभरपुलको पहिलो एघारमा परे पनि हेन्‍डरसन मैदानमा उत्रेनन् । यद्यपि युरोका लागि भने लिभरपुल कप्तान तयार रहेको बताइएको छ । 

त्यस्तै एस्टन भिल्लाका ज्याक ग्रेलिस, बोरुसिया डर्टमन्डका ज्युड बेलिङहम, म्यानचेस्टर युनाइटेडका मेसन ग्रिनउड र आर्सनलका बुकायो साका पनि प्रारम्भिक टिममा परेका छन् । साउथगेटले छनौट गरेको टोलीमा रहेका २१ खेलाडी पहिलो पटक मुख्य अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् । 

विश्वकप २०१८ मा इंगल्यान्डको कप्तानी गरेका ह्यारी केन टिममा बोलाइदा टोटनहमकै डेले अली, एरिक डायर र ह्यारी विङ्क्सले भने युरो गुमाउनेछन् । त्यस्तै, लेस्टर सिटीका जेम्स म्याडिसन र एभरटनका माइकल किन पनि प्रारम्भिक टिममा परेका छैनन् ।


Author

थप समाचार
x