खेलकुद

भारोत्तोलन खेलाडी विकासको नयाँ राष्ट्रिय कीर्तिमान

इकागज |
भदौ २५, २०८० सोमबार १६:१३ बजे

काठमाडौँ- नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसीपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।


विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । यसअघि १२३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।

विकासले क्लिन एन्ड जर्कमा १४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम गरे । यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १४७ केजीको कीर्तिमान रचेका थिए ।

कुलमा उनले उठाएको २७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २७० केजीको कीर्तिमान थियो । विकास १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कंग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे । सागरले पुरुष १०९ केजीमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।


Author

थप समाचार
x