खेलकुद

यातनाको कोइलामा पाकेर हिरा भएको इराकी फुटबल

प्रविणबिक्रम कट्‍वाल |
जेठ १२, २०७८ बुधबार १९:२५ बजे

काठमाडौँ  : फिफा वरियता हेर्ने हो भने इराक एसिया महादेशकै बलिया टिममध्येको एक हो । एसियाली वरियतामा इराक सातौं स्थानमा छ । एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता एसियन कपमा इराकको प्रदर्शन सन्तोषजनक रहँदै आएको छ । पछिल्ला सात संस्करणमा इराक चार पटक क्‍वार्टरफाइनल पुगेको छ । झन् २००७ मा त च्याम्पियन नै बन्यो । 

संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्‍न एसियन कपको पछिल्लो संस्करणमा भने इराक अन्तिम १६ बाटै बाहिरियो । २०१५ मा इराक एसियन कपको फाइनल नजिक पुगेको थियो । तर सेमिफाइनलमा युएईसँग ३-२ ले पराजय भोगेपछि दोस्रो पटक एसियन कपको फाइनल पुग्‍ने इराकको सपना पूरा भएन । 


सन् १९८० को दशकमा इराकी फुटबल चरम उत्कर्षमा थियो । सन् १९८२ को एसियाडमा इराकले पुरुषतर्फको फुटबलमा स्वर्ण जित्यो । त्यसको चार वर्षपछि मेक्सिको विश्वकपका लागि छनौट हुँदै इराकले आफू एसियाली फुटबलको बलियो शक्ति रहेको सन्देश दियो । त्यसपछि भने इराक विश्वकपमा छनौट हुन सकेको छैन । 

इराकमा सन् १९७९ देखि २००३ सम्म सद्दाम हुसेनको शासनमा रह्यो । उनै सद्दामका पुत्र उदय सन् १९८४ बाट इराकी ओलम्पिक कमिटी र इराकी फुटबल संघको अध्यक्ष बने । त्यहाँबाट इराकी फुटबल ओरोला लागेको मानिन्छ । उदय इराकी फुटबलमा धेरै चासो राख्थे । अनि हस्तक्षेप पनि गर्थे । 

हाल इराकी ओलम्पिक कमिटीमा रहेका तालिब मुल्तान उदयमाथि गम्भीर आरोप लगाउँछन् । मुल्तानका अनुसार उदय इराकी फुटबलरलाई राम्रो प्रदर्शन गर्न धम्काउँथे । ‘उदय सधैँ नतिजा हेर्थे । अन्तराष्ट्रिय प्रतियोगितामा सन्तोषजनक प्रदर्शन नगरे फुटबलरलाई मात्र होइन अन्य खेलाडीमाथि हातपात गर्थे । यातना दिन्थे,’ मुल्तानले हालै गोल डटकमसँग भनेका छन् । 

कतिसम्म भने इराकी खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा पेनाल्टी हान्न समेत डराउँथे । पेनाल्टीमा गोल गर्न नसके सजाय पाउने डर उनीहरूमा हुन्थ्यो । सन् १९९९ को अरब गेम्सको फाइनलमा इराक र जोर्डन भिड्दै थिए । इराक चार गोलले पछि परेको अवस्था थियो । तर इराकले अन्तिम २३ मिनेटमा चारै गोल फर्काएपछि खेल पेनाल्टीमा धकेलियो । पेनाल्टी हान्‍न तीन जना खेलाडी मात्रै तयार भए । पेनाल्टीमा भाग नलिए पुरै टिमले यातना भोग्‍नु पर्ने भएपछि पाँच जना खेलाडी तयार भए । तर इराकले ३-१ ले खेल हार्‍यो । तीन इराकी खेलाडी पेनाल्टीमा चुके । तीमध्येका एक थिए, अब्बास रहिम जायर । 

‘धेरै जसो खेलाडी बल छुन पनि तयार भएनन् । पेनाल्टीमा भाग नलिँदा खेल गुमाइन्थ्यो । त्यस्तो अवस्थामा सबैजना यातना सहन तयार हुनु पर्ने थियो । जसोतसो पाँच खेलाडी पेनाल्टी हान्‍न तयार भए,’ सन् २०१२ मा सवारी दुर्घटनामा मारिएका जायरले गार्डियनसँग भनेका छन् । इराक फर्किएपछि जायरलाई बन्धक बनाइयो, यातना दिइयो र तीन साताका लागि करागार चलान गरियो । 

कतिपय इराकी फुटबलर टिम बसमा यात्रा गर्नुपूर्व सिरानी बोकर आउँथे । ताकि बसमा यात्रा गरुन्जेल निन्द्रा पुर्‍याउन पाइयोस । किनभने खेल हारेपछि वा प्रतियोगिताबाट बाहिरिएपछि खेलाडीलाई जेल पठाइन्थ्यो, जहाँ सुत्‍न पाइने सम्भावना शून्यप्राय हुन्थ्यो । खेलाडीहरूलाई अल रदवानिया नाम गरेको जेल पठाइन्थ्यो । अल रदवानियालाई इराककै सबैभन्दा खतरनाक जेल मानिन्थ्यो । ‘राष्ट्रिय टिममा पर्ने जो सुकै खेलाडीले कुनै न कुनै दिन अल रदवानिया जानै पर्थ्यो । त्यसका लागि सबै मानसिकरुपमा तयार रहन्थे,’ पूर्व इराकी फुटबलर तारिक अब्दुल अमिरले इराकी फुटबल वेबसाइट इराक फुटबल डटकमसँग भनेका छन् । 

सद्दाम पुत्र उदय यतिसम्मका त्रुर थिए की, इराकी फुटबल टिम मुख्य अन्तराष्ट्रिय प्रतियोगितामा छनौट नभए, सबै खेलाडीलाई सिमेन्ट कंक्रिटको बलले अभ्यास गर्न आदेश दिन्थे । कतिपय खेलाडीको कपाल मुन्डन गराइन्थ्यो । ‘टिममा सबैभन्दा खराब प्रदर्शन गर्नेको सूची बनाउँथे, उदय । त्यस्तो सूचीमा परेपछि सजाय निश्चित थियो । त्यस्तो दबाबमा खेल्दा हाम्रो खेल कहिले पनि राम्रो हुँदैन थियो,’ इराकका पूर्व कप्तान हबिब जफरले भनेका छन् । 

उदयले इराकी खेलाडीमाथि गरेको ज्याजतीका विषयमा अन्तराष्ट्रिय स्तरमा कुरा उठ्थ्यो । तर फिफाले इराकी फुटबल संघमाथि कारबाही गर्न पर्याप्त प्रमाण जुटाउनै नसक्‍ने अवस्था थियो । किनभने कोही खेलाडी पनि उदयका विषयमा बोल्न तयार हुने अवस्था थिएन । 

सद्दामको शासन हटेसँगै इराकी खेलाडी भयमुक्त भए । तर अमेरिकी आक्रमणपछि सुरु भएको हिंसाका कारण इराकमा आधिकारिक अन्तराष्ट्रिय फुटबल खेल आयोजना गर्न सम्भव भएन । उसो त फिफाले सन् १९९० देखि नै इराकमा आधिकारिक अन्तराष्ट्रिय फुटबल खेल आयोजना गर्न बन्देज लगाएको थियो । इराकले छिमेकी कुवेतमाथि आक्रमण गरेपछि फिफाले इराकमाथि त्यस किसिमको बन्देज लगाएको थियो । फिफाको प्रतिबन्ध अमेरिकी आक्रमण पछि तन्कियो ।

सन् २०१८ मा भने फिफाले बन्देज हटायो । फिफाले इराकलाई तीन शहरमा अन्तराष्ट्रिय खेल खेल खेलाउन अनुमति दिएको छ । ती सहर बासरा, कारबाला र इरबिल हुन् । फिफाको बन्देज हटेपछि सन् २०१९ मा इराकले ‘वेस्ट एसिया फुटबल फेडेरेसन (डब्लुएएफएफ) च्याम्पियनसिप’ आयोजना गर्‍यो । जुन लगभग तीन दशकपछि इराकमा आयोजना गरिएको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो । 

त्यसयता इराकले आफ्नै भूमिमा कयौँ खेल खेलेको छ । प्राय खेल इराकको दोस्रो ठूलो सहर बासरास्थित बासरा अन्तराष्ट्रिय रंगशालामा भएका छन् । त्यही रंगशालामा मैत्रीपूर्ण खेल खेल्न नेपाल इराक पुगेको छ । नेपाली टोली बुधबार नै बासरा पुगिसकेको छ । शनिबार हुने यस खेललाई दुवै टिमले विश्वकप २०२२ को छनौटका लागि तयारी खेलका रुपमा लिएका छन् ।

इराकसँगको खेल नेपालका नयाँ प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीका लागि पहिलो परीक्षा हुनेछ । विश्वकप छनौटको समूह बीमा रहेको नेपालले पाँच खेलबाट जम्मा तीन अंक बनाएको छ । आउँदो साफ कप जित्ने लक्ष्यका साथ युवा टिम बनाउने प्रयासमा रहेका अल्मुताइरीले इराकविरुद्धको खेललाई खेलाडी ‘टेस्ट’ गर्ने मौकाका रूपमा लिएका छन् । 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x