खेलकुद

किन छाडे कोन्टेले इन्टर मिलान ?

इकागज |
जेठ १३, २०७८ बिहीबार ११:२८ बजे

काठमाडौँ : एन्टोनियो कोन्टेले इन्टर मिलान छाडेका छन् । इन्टरलाई भर्खरै इटालियन सिरी ए च्याम्पियन बनाएका कोन्टेले बुधबार यस्तो निर्णय दिए । कोन्टे दुई वर्ष अगाडि इन्टरको प्रशिक्षकमा नियुक्त भएका थिए । इन्टरले लिग नजितेको एक दशक भइसकेको थियो । कोन्टेले आफ्नो पहिलो सिजनमा इन्टरलाई लिगको दोस्रो स्थानमा पुर्‍याए । दोस्रो सिजनमा भने पूर्व युभेन्टस र चेल्सी प्रशिक्षक कोन्टेले इन्टरलाई च्याम्पियन बनाए । त्यो पनि चार खेल बाँकी रहँदै ।

गत सिजनबाटै कोन्टे र इन्टर प्रशासनबीचको सम्बन्धमा फाटो आइरहेको थियो । यस सिजन लिग जिते पनि दुई पक्षबीच सम्बन्ध सुधार भएन । जसले अन्ततः कोन्टे र इन्टरको सम्बन्ध बिच्छेद गरायो । कोन्टेले इन्टर छाड्ने निर्णय किन गरे ? जवाफ इन्टरको स्वामित्व लिएको चिनियाँ कम्पनी सुनिङको आर्थिक अवस्थासँग जोडिएको छ । सुनिङ होल्डिङ ग्रुप इन्टरमा सबैभन्दा बढी शेयर भएको कम्पनी हो । सुनिङ तथा इन्टर दुवैको अध्यक्ष चिनियाँ नागरिक स्टिभन झाङ हुन् । झाङले इन्टरमा खर्च कटौती गर्ने निर्णय गरे । 


कोभिड-१९ का कारण सिर्जित आर्थिक मन्दीका कारण सुनिङ र इन्टर दुवैको आम्दानी घटेको छ । युरोपियन अखबारहरूको दाबी अनुसार इन्टरले कोभिडका कारण गत सिजन मात्रै एक सय मिलियन युरो आम्दानी गुमाएको थियो । उता सुनिङको आर्थिक अवस्था पहिल्यै खराब भएकाले झाङ दबाबमा थिए ।

कोभिड प्रोटोकलका कारण दर्शक रंगशालामा आउन सक्ने अवस्था भएन । जसका कारण इन्टरको आर्थिक स्थितिमा सुधार आउने सम्भावना कम भयो । त्‍यसैले झाङ थप दबाबमा परे । यस्तोमा उनीसँग बाँकी रहेको एउटै उपाय भनेको इन्टरको खर्च कटौती हो । 

इन्टरले खर्च कटौती गर्दा कोन्टेले आफूल चाहेको खेलाडी खरिद गर्न सक्ने अवस्था भएन । बरु खर्च कटौतीका नाममा कोन्टेका मुख्य खेलाडी बेचिने सम्भावना बढ्यो । जसका कारण कोन्टे र क्लबीचको दूरी बढ्यो । लिगको उर्ताद्धमा कोन्टे पत्रकार सम्मेलनमा समेत देखिन छाडेका थिए । 

पछिल्ला वर्ष सुनिङले फुटबलमा लगानी बढाइरहेको थियो । चिनियाँ लिग खेल्ने जियाङसु एफसी पनि सुनिङकै स्वामित्वमा सञ्चालित थियो । तर दुर्भाग्यवस जियाङसु हाल अस्तित्वमा छैन । गत फेब्रुअरीमा जियाङसु बन्द गरियो । कारण उही घटिरहेको आम्दानी । 

सुनिङको आर्थिक अवस्था बिग्रेपछि इन्टरका लागि ऋण लिइएको छ । ऋण दिने अमेरिकी कम्पनी हो, औकट्री । जसले इन्टरलाई २ सय ७५ युरो उपलब्ध गराएको छ । यो ऋण इन्टरले अर्को तीन वर्षभित्र तिर्नुपर्ने शर्त छ । ऋण वापत आएको रकम एकैचोटी खर्च गर्ने पक्षमा सुनिङ छैन । नयाँ खेलाडी खरिद र तलबमा धेरै खर्च गर्ने योजनामा छैन । तर यस प्रकारको नीतिले कोन्टेको अर्को सिजन पनि लिग जित्ने र च्याम्पियन्स लिगमा बलिया टिमसँग मुकाबिला गर्ने लक्ष्यमा धक्का पुग्यो । 

कोन्टेले छाड्ने निर्णय गरेपछि इन्टर नयाँ प्रशिक्षकको खोजीमा लागेको छ । इन्टरको नजर दुई इटालियन प्रशिक्षकमाथि रहेको बताइन्छ । ती हुन्, सिमोने इन्जाघी र मासिमिलियानो एलेग्री । इन्जाघी हाल इटालीकै अर्को क्लब लाजियोको प्रशिक्षक छन् । एलेग्री भने हाल खाली छन् । इन्टरको सूचीमा अरु प्रशिक्षक पनि थपिन सक्छन् । यद्यपि कतिपयको भनाइ छ, इन्टरले युरो २०२० पछि मात्रै नयाँ प्रशिक्षक नियुक्त गर्ने सम्भावना छ  ।


Author

थप समाचार
x