खेलकुद

लामाचौर राष्ट्रिय भलिबलमा गण्डकी बन्याे च्याम्पियन

इकागज |
असोज २, २०८० मंगलबार १८:३६ बजे

पोखरा ।  लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि घरेलु टिम गण्डकी प्रदेशले जितेको छ ।

मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधि  जितेको हो । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित हात पारेको थियो । दोस्रो सेट भने गण्डकीले २५–१९ ले आफ्नो पोल्टामा पार्यो‍ । तेस्रो सेट भने पुलिसले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको चौंथो सेटमा गण्डकीले २८–२६ को जित निकाल्यो । अन्तिम सेट भने सहज १५–११ मा कब्जा जमाउँदै गण्डकी च्याम्पियन बन्यो । 


विजेता भएको गण्डकीले उपाधिसहित १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्‍यो । गत वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । लाइट प्रोटेस्टका कारण सोमबारको फाइनल १–१ सेटको बराबरीपछि मंगलबारका लागि सरेको थियो । उपविजेता पुलिसले पुरस्कारस्वरुप १ लाख प्राप्त गरेको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लब तेस्रो हुँदै ५० हजार पुरस्कार पायो ।

प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (वेस्ट ब्लकर), किरण गुरुङ (वेस्ट स्पाइकर) र रमेश केसी (वेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (वेस्ट सर्भर), अभिषेक थापा (वेस्ट सेटर) र भीम गाहा (वेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।

पुरुषतर्फ उपविजेतामा सीमित भए पनि नेपाल पुलिस क्लबले सोमबार महिलातर्फको उपाधि जितेको थियो । फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो । लिग चरणका सबै खेलमा अपराजित यात्रा कायम गरेको पुलिसले डायमण्डमाथि फाइनलमा १८—२५, २५—२२, २५—१४ र २५—२० सेटको जित निकाल्दै १ लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेताले १ लाख पायो । गत वर्ष पनि नेपाल पुलिसले न्यु डायमण्ड एकेडेमीलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो ।
महिलातर्फ नेपाल पुलिसकी लक्ष्मी चन्द उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५ हजार हातपार्न सफल भइन् । त्यस्तै प्रतियोगितामा वेष्ट सेटर नेपाल पुलिसकी कमला पुन, वेष्ट सर्भर न्यू डायमण्डकी जेशिका विक, वेष्ट डिफेण्डर पुलिसकी शान्तीकला राई, वेष्ट ब्लकर न्यू डायमण्डकी सुमित्रा रेग्मी, वेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढा मगर र वेष्ट कोच नेपाल पुलिसका रितेश विष्ट हुन सफल भए ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएको प्रचार संयोजक दिनेश भण्डारीले बताए ।


Author

थप समाचार
x