खेलकुद

पहिलो उपाधिको खोजीमा प्रशिक्षक रवि शास्त्री

इकागज |
जेठ १३, २०७८ बिहीबार १६:५९ बजे

काठमाडौँ: सामान्यतया ३१ वर्ष क्रिकेटरका लागि सन्यास लिने उमेर होइन । तर रवि शास्त्रीले ३१ वर्ष पुग्दा भारतीय क्रिकेट टिमबाट सन्यास लिने निधो गरे । घुँडाको चोटले निकै दुख दिएपछि शास्त्रीले खेल करियरबाट विश्राम लिने निर्णय गरेका थिए । शास्त्रीले भारतीय टिमबाट करिब ११ वर्ष खेले । त्यस दौरान कुल १ सय ५० एक दिवशीय खेल खेले । अनि ८० टेस्ट । भारतले सन् १९८३ मा पहिलो पटक एक दिवशीय विश्वकप जित्दा शास्त्री पनि टिम सदस्य थिए । 

सन्यास पश्चात शास्त्री फरक भूमिका देखिए तर क्रिकेट जगत भित्रै । कमेन्ट्रीमा प्रशिद्धी कमाए । भारतले २०११ विश्वकप जित्दा उनले गरेको कमेन्ट्री क्रिकेट समर्थकले भुलेका छैनन् । लामो समय कमेन्ट्री गरेपछि शास्त्री खेलमै फर्किए । सन् २०१७ मा उनलाई भारतीय टिमको प्रशिक्षकमा नियुक्त गरियो । अहिले पनि उनी त्यही भूमिकामै छन् । 


भारतीय टेस्ट टिमको तथ्यांक हेर्ने हो भने, शास्त्रीको सफलता लोभलाग्दो छ । उनको प्रशिक्षणमा भारतले ४६ टेस्ट खेलेको छ । प्रशिक्षकका रुपमा टेस्ट क्रिकेटमा उनको जित प्रतिशत ६०.८७ प्रतिशत छ । उनको रेकर्ड पछ्याउने प्रशिक्षक जोन राइट हुन् । उनको नेतृत्वमा भारतले ५२ टेस्ट खेल्दै २१ जित हासिल गरेको थियो । एक दिवशीयमा पनि शास्त्रीले उल्लेख्य सफलता प्राप्त गरेका छन् । उनले भारतीय टिमलाई ९१ खेलमध्ये ५७ मा जित दिलाएका छन् । 

शास्त्रीको नेतृत्वमा भारतले सन् २०१८-२०१९ बोर्डर गावस्कर ट्रफी उचाल्यो । त्यो पनि अस्‍ट्रेलियाकै मैदानमा । त्यस सफलताले भारतलाई अस्ट्रेलियाको भूमिमा टेस्ट श्रृंखला जित्ने पहिलो एसियाली टिम बनायो । यसले शास्त्रीको प्रशिक्षण करियरलाई थप उचाइमा पुर्‍यायो । शास्त्रीको प्रशिक्षणमा भारतले कयौँ महत्वपूर्ण जित हाँसिल त गरेकै छ, धेरै नयाँ खेलाडीले मौका पनि पाएका छन् । रिसभ पन्तलगायतका युवा खेलाडीको वृत्ति विकास भएको छ । गत नोभेम्बरमा भारतले अस्‍ट्रेलियाको भ्रमण गर्दा पन्तको खेल गज्जबको रह्यो । विराट कोहली श्रृंखला नसकिँदै भारत फर्किएपछि शास्त्रीले पन्तलगायतका युवा खेलाडीको बलमा अस्‍ट्रेलियाविरुद्ध ऐतिहासिक जित दर्ता गरे । 

शास्त्री भारतीय टिमको प्रशिक्षक बनेको करिब चार वर्ष भयो । उनको प्रशिक्षणमा भारत आईसीसीले सञ्चालन गर्ने प्रतियोगिताको फाइनल पुग्न नसकेको भन्ने गुनासो थियो । तर त्यस्तो गुनासोको सम्बोधन शास्त्रीले यसपटक गरेका छन् । भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । टेस्ट च्याम्पियनसिप फाइनलमा भारतले न्यूजिल्यान्डको सामना गर्दैछ । फाइनल इंगल्यान्डको साउथह्याम्पटनमा जुन १८ देखि २२ सम्म खेलाइनेछ । 
 


Author

थप समाचार
x