खेलकुद

जिदानले छाडेपछि रियल नयाँ प्रशिक्षकको खोजीमा, कोन्टेदेखि राउलसम्मको नाम चर्चामा

इकागज |
जेठ १३, २०७८ बिहीबार १८:३७ बजे

काठमाडौँ: जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकबाट राजिनामा दिएका छन् । जिदानले बिहीबारबाट रियलको बसाइ टुङ्गाएका हुन् । जिदान सन् २०१९ मा दोस्रो पटक रियलको प्रशिक्षक बनेका थिए । रियलले बिहीबार नै विज्ञप्ती जारी गर्दै जिदानले क्लब छाडेको जनाएको छ ।

‘जिनेदिन जिदानले रियल म्याड्रिड छाड्ने निर्णय गरेका छन् । हामी उनको निर्णय सम्मान गछौँ । उनले यस क्लबका लागि अतुलनिय योगदान गरेका छन् । उनी सधैँ रियल म्याड्रिडको नायकका रूपमा रहने छन् । रियल म्याड्रिड उनको घर हो,’ रियलले विज्ञप्तीमा भनेको छ । 


फ्रान्सबाट १९९८ विश्‍वकप जितेका जिदानले रियलबाट प्रशिक्षण करियर सुरु गरेका थिए । सन् २०१६ मा उनलाई सिनियर टिमको प्रशिक्षक बनाइएको थियो । सन् २०१८ मा रियल छाडेका जिदानले स्पेनी क्लबलाई तीन च्याम्पियन्स लिग र एक लिग उपाधि जिताएका थिए ।  सन् २०१९ मा फेरि रियल फर्केका जिदानले थप एक लिग जिते । रियलसँगको उनको सम्झौँता सकिन अझैँ एक वर्ष बाँकी थियो ।

जिदानले किन रियल छाडे भन्न बारेमा केही बताइएको छैन । जिदानले पनि यस बारेमा मुख खालेका छैनन् । यद्यपि स्पेनी अखबार मार्काका अनुसार जिदान र रियलबीच केही महिना यता दूरी बढ्दै गइरहेको थियो । जनवरीमा रियलले कोपा डेल रेमा अल्कोयानोसँग हार ब्यहारेको थियो । रियल तेस्रो श्रेणीको क्लबसँग पराजित हुँदै घरेलु कपबाट बाहिरिएपछि जिदान दबाबमा परेका थिए ।

कोभिड-१९ संक्रमणका कारण जिदान केही साता घरमै बसे । संक्रमणमुक्त भएर मैदान फर्केपछि जिदानले आक्रमक अभिव्यक्ति दिएका थिए । उनले आफू र आफ्नो टिमलाई अपमान गर्न नहुने बताएका थिए । उनको अभिव्यक्ति समर्थक र क्लब प्रशासनतर्फ लक्षित थियो । जिदानको त्यस अभिब्यक्तिले रियललाई झस्काएको मार्काको दाबी छ । 

जिदानलाई सिनियर खेलाडीमाथि अत्याधिक भरोसा गरेको आरोप लाग्यो । उनी र सिनियर खेलाडीबस्च भावानात्मक सम्बन्ध भएकाले युवा खेलाडीले टिममा पर्याप्त मौका पाउन नसकेको मार्काले लेखेको छ । यद्यपि जिदान र रियल अध्यक्ष फ्लोरेन्टिनो परेजबीच सम्बन्ध सुमधुर नै रहेको बताइएको छ । 

जिदानले लामो समय रियलबाट खेले । सन् २००६ मा सन्यास लिएपछि जिदान केही वर्ष रियल अध्यक्ष पेरेजको सल्लाहकार बने । त्यसबीचमा उनी विभिन्‍न किसिमका च्यारिटी कार्यक्रममा व्यस्त रहे । सन् २०१४ मा भने उनले प्रशिक्षण करियर सुरु गरे । उनको पहिलो जिम्मेवरी थियो, रियलको युवा टोली । तर दुई वर्षपछि नै उनको बढुवा भयो । तत्कालिन प्रशिक्षक राफाएल बेनिटेजले रियल छाडेपछि जिदानले सिनियर टिमको जिम्मेवारी सम्हाल्न थाले । जिदानको प्रशिक्षणमा रियलले कुल २ सय ६३ खेल खेल्यो । जसमा रियलले १ सय ७४ जित हासिल गर्‍यो भने ३६ खेलमा हार ब्यहोर्यो । 

जिदानको बर्हिगमनसँगै रियलले नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ । गोल डटकमका अनुसार रियल मासिमिलियानो एलेग्रीलाई नयाँ प्रशिक्षक बनाउन चाहन्छ । तर एलेग्री युभेन्टस फर्कन सम्भावना बलियो रहेको युरोपियन अखबारले लेखेका छन् । 

भर्खरै इन्टर छाडेका एन्टोनियो कोन्टे पनि रियलको नजरमा छन् । इन्टरलाई इटालियन लिग च्याम्पियन बनाउन सफल कोन्टे युरोपियन क्लब फुटबलमा प्रमाणित प्रशिक्षक हुन् ।

त्यस्तै राउल गोन्जालेज पनि रियलको सम्भावित प्रशिक्षकको सूचीमा छन् । पूर्व रियल स्ट्राइकर हाल युवा टिम हेरिरहेका छन् । उनले रियलको अण्डर १९ टिमलाई युईएफए युथ कप जिताएर आफूलाई एक हदसम्म सिद्ध गरेका छन् ।

आउँदो युरो पछि जर्मन टिम छाड्ने घोषणा गरेका योकिम लो पनि रियलको नजरमा छन् । जर्मनीलाई २०१४ विश्वकप जिताएका लोका लागि पनि रियलको प्रस्ताव क्लब प्रशिक्षणमा होमिन गतिलो मौका हुनसक्छ । 


Author

थप समाचार
x