खेलकुद

इन्जाघी इन्टरको प्रशिक्षक बन्‍ने

इकागज |
जेठ १४, २०७८ शुक्रबार १४:३० बजे

काठमाडौँ: इन्टर मिलानको प्रशिक्षकमा सिमोने इन्जाघी नियुक्त हुने सम्भावना बलियो भएको छ । बिहीबार लाजियो छाडेसँगै इन्जाघी इन्टरको जिम्मेवारी लिन तयार भएका हुन् । केही दिनअघि मात्रै एन्टोनियो कोन्टले जिम्मेवारी त्यागेपछि इन्टर नयाँ प्रशिक्षकको खोजीमा छ । 

इन्जाघी पछिल्ला पाँच वर्षदेखि लाजियाको प्रशिक्षक रहँदै आएका थिए । पूर्व स्ट्राइकर समेत रहेका इन्जाघीको बर्हिगमनको पुष्टि लाजियोले गरिसकेको छ । ‘हामी इन्जाघीको निर्णयको सम्मान गर्छौ । खेलाडीका रुपमा पनि उनले यस क्लबमा योगदान गरेका छन् । प्रशिक्षक बनेर पनि उनले टिमलाई बलियो बन्न मद्दत गरेका छन्,’ लाजियोले आफ्नो विज्ञप्तीमा भनेको छ । 


इन्जाघी सन् २०१६ मा लाजियो फर्किएका थिए । स्टेफानो पिओलीको स्थानमा लाजियो पुगेका इन्जाघीको प्रशिक्षणमा रोमको क्लबले कुल दुई सय ४२ खेल खेल्यो । तीमध्ये लाजियाले एक सय २९ खेलमा जित हासिल गर्‍यो भने ४३ खेलमा बराबरीमा रोकियो । इन्जाघीको नेतृत्वमा लाजियोले तीन उपाधि उचाल्यो । यद्यपि भर्खरै सकिएको सिजन भने लाजियोका लागि सम्झनलायकको रहेन । लाजियो ३८ खेलबाट ६८ अंक बटुल्दै छैठौँ स्थानमा सिमित भयो । 

उता ११ वर्षपछि इटालियन च्याम्पियन बनेको इन्टरमा कोन्टेलाई प्रतिस्थापन गर्ने इन्जाघीका अगाडि चुनौतिको पहाड हुनेछ । इन्जाघीका लागि मुख्य जिम्मेवारी सिरी ए उपाधि रक्षा गर्ने हुनेछ ।

त्यस्तै, इटालियन च्याम्पियनले च्याम्पियन्स लिगमा बलियो पदर्शन गर्नुपर्ने चुनौति पनि छ । यद्यपि इन्जाघीले इन्टरलाई कोन्टेले जस्तो सफलता दिलाउने सम्भावना कम छ । आर्थिक अवस्था खराब भएकाले इन्टरले आफ्ना केही मुख्य खेलाडी बेच्‍ने सम्भावना छ । त्यसकारण पनि इन्जाघीले इन्टरमा अपेक्षाकृत उपलब्धि हासिल गर्ने सम्भावना कम छ ।    


Author

थप समाचार
x