खेलकुद

चेला पिर्लो असफल भएपछि गुरु एलेग्री युभेन्टस फर्कदै

इकागज |
जेठ १४, २०७८ शुक्रवार १७:५४ बजे

फाइल तस्बिर

काठमाडौँ: एसी मिलानले अन्तिम पटक सिरी ए जितेको सन् २०११ मा हो । मिलानलाई च्याम्पियन बनाउने प्रशिक्षक थिए, मासिलियानो एलेग्री । एलेग्रीले आफू पुगेकै सिजन मिलानलाई लिग जिताए । त्यसो त त्यसबेलाको मिलान निकै बलियो थियो । रक्षापंक्तिदेखि अग्रपंक्तिसम्म, हरेक पोजिसनमा स्टार खेलाडी थिए । 

एलेग्रीलाई साथ दिन ज्लाटन इब्राहिमोभिचदेखि थियागो सिल्भा जस्ता विदेशी खेलाडी मिलानमा उपस्थित थिए । आन्द्रेइ पिर्लो लगायतका घरेलु स्टार पनि टिममा थिए । तीनै पिर्लोले लिग जिते लगत्तै मिलान छाडे । उनको नयाँ गन्तव्य थियो, युभेन्टस । त्यो पनि ‘फ्रि-ट्रान्सफर’ मा । मतलब, युभेन्टसले स्थान्तरण रकम नतिरी पिर्लो जस्ता कुशल मिडफिल्डर अनुबन्ध गर्‍यो । 


केही वर्षपछि पिर्लोलाई पछ्याए, एलेग्रीले । मिलानमा पिर्लो र एलेग्रीको सहकार्य एक सिजनमा सीमित भयो । संयोगवश युभेन्टसमा पनि दुई इटालियनको सहकार्य एक सिजन भन्दा बढीको भएन । तर त्यहाँ पनि उनीहरूले लिग जिते । लिग च्याम्पियन बनेको वर्ष नै पिर्लो अमेरिका हानिए । एलेग्री भने थप केही वर्ष टुरिनमै रहे । 

एलेग्रीले सन् २०१९ मा युभेन्टस छाडे । एलेग्रीको बर्हिगमनसँगै युभेन्टस संक्रमणमा धकेलियो । एलेग्रीलाई प्रतिस्थापन गर्न युभेन्टस पुगेको माउरिजियो सारी एक सिजन भन्दा धेरै टिकेनन् । सारी बर्खास्तीमा पर्ने र पिर्लो युभेन्टस फर्कने समय लगभग उस्तै समय रह्यो । यद्यपि पिर्लो पनि युभेन्टसमा एक सिजन भन्दा बढी टिक्न सकेनन् । शुक्रबार मात्रै पिर्लो प्रशिक्षकबाट बर्खास्तीमा परे । आफ्ना पूर्व खेलाडीलाई बर्खास्त गरेपछि युभेन्टसको नजर पूर्व प्रशिक्षक एलेग्रीमाथि छ । 

मिलान र युभेन्टसमा पिर्लो र एलेग्रीको योगदान महत्वपूर्ण रह्यो । थोरै समयका लागि भए पनि साझेदारी गरे । एलेग्रीले छाडेपछि भताभुङ्ग भएको युभेन्टस सम्हाल्ने प्रयासमा पिर्लो असफल भए । गुरु एलेग्रीको पाएको सफलता नजिक चेला पिर्लो पुग्न सकेनन् । त्यसकारण, युभेन्टस सम्हाल्न फेरि गुरु नै फर्कने भएका हुन् । 

युभेन्टस लगातार सिरी ए च्याम्पियन बन्दै आएको थियो । तर यसपटक युभेन्टस इन्टर मिलानका अगाडि फिक्का देखियो । पिर्लोको प्रशिक्षणमा युभेन्टस दुई मिलान क्लब र एटलान्टा भन्दा पछाडि पर्‍यो । युभेन्टस च्याम्पियन्स लिगका लागि छनौट त भयो । तर त्यसलाई युभेन्टसले सफलता मानेको देखिएन । च्याम्पियन्स लिगमा भोगेको असफलताले पनि पिर्लोको विश्वसनियतामाथि प्रश्न उठ्यो । उसो त युभेन्टसले यस सिजन दुई घरेलु कप पनि जित्यो । तर त्यस सफलताले पिर्लोको जागिर जोगाएन । 

पिर्लोको प्रशिक्षणमा युभेन्टसले कुल ५२ खेल खेल्यो । पूवै इटालियन प्लेमेकरले ३४ खेलमा जित दिलाए भने आठ खेलमा हार भयो । उता एलेग्रीको पालामा भने युभेन्टसले पाँच लिग, चार कोपा इटालिया र दुई सुपर कोपा इटालियाना जितेको थियो । एलेग्रीले युभेन्टसलाई दुई पटक च्याम्पियन्स लिगको फाइनल पनि पुर्‍याए । यद्यपि युभेन्टस युरोपियन च्याम्पियन भने बन्‍न सकेन ।   

एलेग्री युभेन्टस छाडेदेखि क्लब विहिन रहेका छन् । बीचमा उनी केही ठूला क्लबसँग नजोडिएका होइनन् । यसपटक पनि उनी रियल म्याड्रिडको नजरमा छन् । जिनेदिन जिदानले छाडेपछि रियलमा प्रशिक्षकको पद खाली छ । तर युरोपियन सञ्चार माध्यमको दाबी पत्याउने हो भने, एलेग्री पूरानो क्लब नै फर्कँदैछन् ।  


Author

थप समाचार
x