खेलकुद

मैत्रीपूर्ण खेलः इराकविरुद्ध नेपाल

बलियो टिम बन्‍न, बलिया विपक्षीसँग भिड्नु पर्छ: मुख्य प्रशिक्षक अल्मुताइरी

इकागज |
जेठ १५, २०७८ शनिवार १८:२८ बजे

काठमाडौँ: विश्‍वकप तथा एसियन कप छनौटमा नेपाल एसियाका बलिया टिमसँग भिडेको छ । एसिया महादेशको सुदूरपूर्वमा रहेको जापानदेखि खाडीको इरानसम्म, नेपालका विपक्षी बनेका छन् । यद्यपि नेपालले यस्ता बलिया टिमसँग मैत्रीपूर्ण खेल खेल्ने मौका भने विरलै पाएको छ । 

धेरै वर्षपछि नेपालले बलियो टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अनपेक्षित मौका पाएको छ । सोही अनुरुप नेपाल पश्‍चिम एसियाको इराक पुगेको छ । जहाँ नेपाल बलियो इराकी टिमविरुद्ध शनिबार राती मैदानमा उत्रँदैछ । 


विश्‍वकप २०२२ छनौटका बाँकी खेल आउँदो बिहीबारबाट सुरु हुँदैछन् । नेपाल र इराक दुवैले विश्‍वकप छनौटका अन्तिम तीन-तीन खेल खेल्न बाँकी छ । विश्‍वकप छनौट चरणमा फर्कंदै गरेका नेपाल र इराकका लागि बासरामा हुने मैत्रीपूर्ण खेल तयारी खेल हाे । दुवै टिमले विश्वकप छनौट खेलहरू तटस्थ भूमिमा खेल्नेछन् । नेपाल बासराको खेलपछि कुवेत जानेछ भने इराक छिमेकी देश बहराइनतर्फ लाग्‍नेछ । 

नेपाल विश्‍वकप छनौट अन्तर्गतको समूह ‘बी’मा छ । र, पाँच खेलबाट तीन अंक बटुल्दै चौथो स्थानमा छ । उता इराक भने समूह ‘सी’को पहिलो स्थानमा छ । पाँच खेलबाट ११ अंक बनाएको इराक शीर्ष स्थानमै रहिरहे विश्‍वकप छनौटको तेस्रो चरणमा पुग्‍नेछ । तेस्रो चरणमा पुग्‍ने भनेको, चीनमा हुने एसियन कप २०२३ मा स्वत : छनौट हुनु हो । यद्यपि इराकको लक्ष्य विश्‍वकप नै हो ।

फिफा वरियतालाई आधार मान्‍ने हो भने नेपाल र इराकको स्तरमा आकाश जमिनको फरक छ । दुई टिमको लक्ष्य पनि फरक छ । नेपालको स्तर एसियन कपमा छनौट हुने खालको छैन । त्यसकारण नेपालका प्रशिक्षकले आफ्नो टिमको नजर साफ कपतर्फ रहेको बताइसकेका छन् । उता इराक भने दोस्रो पटक विश्‍वकपमा छनौट हुने ध्याउन्‍नमा छ । 

यस्तोमा प्रश्न उठ्छ,  इराक किन नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो ? अथवा प्रश्न अर्को पनि उठ्छ,  नेपालले किन बलियो इराकी टिमसँग खेल्ने आँट देखायो ? पहिलो प्रश्नको उत्तर सायदै पाइएला । तर दोस्रो प्रश्नको उत्तर भने नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दिएका छन् । 

‘हाम्रो उद्देश्य बलियो टिम बन्ने हो, त्यसकारण हामी एसियाका बलिया टिमसँग भिड्न डराउँदैनौ । यही सन्देश हामी नेपाली समर्थकलाई दिन चाहन्छौ । अनि म नेपाली खेलाडीहरूको आत्मविश्वास बलियो बनोस् भन्ने पनि चाहन्छु । त्यसका लागि पनि बलिया टिमसँग खेल्न जरुरी छ,’ अल्मुताइरीको भनाइ छ ।  

अल्मुताइरी नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएको करिब दुई महिना भयो । इराकसँगको खेल उनका लागि ‘फस्ट पेपर’ हो । मुख्य प्रशिक्षकका रूपमा पहिलो पत्रकार सम्मलेनमा उपस्थित हुँदा उनले भनेका थिए , ‘अब नेपालले साहसिक खेल खेल्नेछ । विगतमा जस्तो मैदानमा रक्षात्मक देखिने छैन ।’ 

बासरामा पनि अल्मुताइरीले त्यही कुरा दोहोर्‍याएका छन् । ‘हामी इराकसँग नडराइ खेल्ने छौँ । यो मैत्रीपूर्ण खेल हो । हामीलाई सम्भावित नतिजाको चिन्ता छैन’, उनले शुक्रबार टोलीसँगै गएका पत्रकारसँगको अन्तर्क्रियाका क्रममा भने, ‘ नेपालले नयाँ शैलीमा खेल्नेछ । हामी विपक्षीको क्षेत्रमा बल पुर्‍याउन डराउने छैनौँ । हाम्रो उद्देश्य भनेको बढीभन्दा बढी आक्रमण बुन्‍ने नै हुनेछ ।’ 

कुवेती नागरिक अल्मुताइरीले इराकसँगको खेलबाट आउने नतिजाले विश्वकप छनौटका बाँकी खेलमा फरक नपार्ने पनि बताए। ‘मैत्रीपूर्ण खेल र आधिकारिक खेलमा अवश्य फरक हुन्छ । शनिबारको नतिजाले अस्टे«लिया वा जोर्डनविरुद्धको खेलमा कुनै फरक पार्दैन,’ अल्मुताइरीले भनेका थिए । 

नेपालले इराकसँग खेल्न लागेको यो पहिलो पटक होइन । दुई टिम यसअघि तीन पटक भिडिसकेका छन् । नतिजा शत प्रतिशत इराकको पक्षमा गएको छ । नेपालको इराकसँग पहिलो भेट सन् १९८२ मा भएको थियो । भारतीय राजधानी नयाँ दिल्लीमा भएको एसियाली खेलकुदमा नेपालले ३-० को हार ब्यहोरेको थियो । त्यसको १९ वर्षपछि नेपाल र इराक विश्वकप २००२ मा छनौटमा आमनेसामने भए । पहिलो लेगमा नेपाल ४-२ ले पराजित भयो भने दोस्रो खेल ९-१ ले हार्‍यो ।    

अल्मुताइरीले घोषणा गरेको टिममा अधिकांश खेलाडी युवा छन् । घोषित २३ सदस्यीय टिममा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । गोलरक्षक विशाल सुनार र रक्षक गौतम श्रेष्ठ नेपालको टिममा परेका नयाँ अनुहार हुन् । त्यस्तै भर्खरै सकिएको नेपाल सुपर लिग (एनएसएल) मा सन्तोषजनक प्रदर्शन गरेका आयुश घलान, कमल थापा, सुरजज्यू ठकुरी र मनिष डाँगी पनि अल्मुताइरीको नजरमा परेका छन् । यी सबै मिडफिल्डर हुन् ।

स्ट्राइकर नवयुग श्रेष्ठ, सुमन लामा, आशिष लामा, सन्तोष तामाङ र पुजन उपरकोटी पनि नेपाली टिममा फर्किएका छन् । विश्वकप छनौटका बाँकी खेलमा नेपालले चाइनिज ताइपेई (जेठ २०), जोर्डन (जेठ २५) र अस्ट्रेलिया (जेठ २८) को सामना गर्दैछ । सबै खेल कुवेत सिटीको केवेत एससी रंगशालामा हुनेछन् । 

 
  
 
 


Author

थप समाचार
x